काठमाडौं । पहिलो टेस्ट खेलमा घरेलु टोली न्युजिल्यान्डले श्रीलंकामाथि रोमान्चक जित हात पारेको छ ।
श्रीलंकाको हारसँगै साबिक उपबिजेता भारतले आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा स्थान पक्का गरेको छ ।
श्रीलंकाले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ८ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम दिन खेल सकिन अन्तिम बल बाँकी रहँदा घरेलु टोलीले लक्ष्य भेटेको हो ।
न्युजिल्याण्डको जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल आगामी जुन ७ देखि लण्डनमा सुरु हुनेछ ।
न्युजिल्याण्डको जितमा केन विलियम्सनले १ सय ९४ बलमा ११ चौका र १ छक्काको सहयोगमा १ सय २१ रनको अविजित शतकीय इनिङ खेले ।
ड्यारियल मिचेल ८६ बलमा ३ चौका र ४ छक्कासहित ८१ रनमा आउट भए । श्रीलंका असिथा फ्रनान्डोले सर्वाधिक तीन विकेट लिए ।
श्रीलंका दोस्रो इनिङमा ३ सय २ रनमा अलआउट भएको थियो । श्रीलंकाका लागि एन्जिलो म्याथ्युजले १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । न्युजिल्यान्डका ब्लेयर टिकनरले चार र म्याट हेनरीले तीन विकेट लिए ।
न्युजिल्यान्ड पहिलो इनिङमा ३ सय ७३ रनमा अल आउट भयो ।
न्युजिल्यान्डका ड्यारियल मिचेलले १ सय २ रनको शतकीय इनिङ खेलेका थिए । म्याट हेनरीले ७२ रनको इनिङ खेलेका थिए ।
श्रीलंका पहिलो इनिङमा ३ सय ५५ रनमा अल आउट भएको थियो । दुई टेस्ट खेलको सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता लिएकोछ । अव दोस्रो टेस्ट खेल शुक्रबारदेखि सुरु हुनेछ ।