काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने ठुलो विश्व कीर्तिमान नजिक पुगेका छन् ।
आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा पपुवा न्युगिनी(पीएनजी)विरुद्ध पाँच विकेट लिएसँगै सन्दीप ठूलो कीर्तिमानको नजिक पुगेका हुन्।
सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउँदै छन् ।
एक सय विकेट पूरा गर्न सन्दीप २ विकेटले मात्र पछि रहेका छन् । उनले ४० एकदिवसीय अन्तराष्ट्रिय खेलमा ९८ विकेट लिएका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।
२०१८ मा खानले बनाएको उक्त कीर्तिमान तोड्न सन्दीपले अबका तीन खेलमा दुई विकेट लिनु पर्ने हुन्छ । पछिल्लो समयमा सन्दीपको उच्च लय हेर्दा त्यो कीर्तिमान तोडिने सम्भावना प्रचुर रहेको छ ।
खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।
सन्दीपपछि नेपालबाट एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपालले ४३ खेलमा ६० विकेट लिएका छन् ।