काठमाडौं । साफ फुटबलको तयारी स्वरुप नेपालको राष्ट्रिय महिला टिमले अाजबाट प्रशिक्षण सुरु गर्दैछ । प्रतियोगिता आउन ३ महिना बाँकी छँदै अखिल नेपाल फुटबल संघ एन्फाले महिला टिमको तयारी अघि बढाएको हो ।
एन्फाले तयारीका लागि भन्दै ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रशिक्षण बिहान ९ बजे सुरु हुनेछ ।
नेपालमा आयोजना हुने तय भएको प्रतियोगिता मार्च ११ बाट २१ सम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय टिममा रहेका खेलाडी, उमेर समुहका खेलाडी र प्रधानसेनापति कपमा गरेको प्रर्दशनका आधारमा खेलाडी छनोट गरिएको महिला टिमका मुख्य प्रशिक्षक हरी खड्काले बताए ।
‘एएफसी छनोटमा राम्रो प्रर्दशन गर्ने अन्डर १९ टिमका खेलाडी, प्रधानसेनापति कपमा देखिएका नयाँ प्रतिभा र राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई प्रशिक्षणमा बोलाएका छौ ।’ उनले खेलापाटीसंग भने ।
प्रतियोगिताको 'ड्र' भने यसअघिनै सार्वजनीक भईसकेको छ । नेपाल समुह एमा रहेको छ । सो समुहमा नेपाल सहित बंगलादेश, भुटान र पाकिस्तान छन् । समुह बीमा भारत, माल्दिभ्स र श्रीलंका छन् ।
पाँचौ संस्करणको प्रतियोगिता नेपालमा आयोजना हुदैछ । एन्फाले पहिलो पटक साफको प्रतियोगितालाई मोफसलमा लगेको छ । प्रतियोगिताका सबै खेल विराटनगरमा हुनेछ ।
दक्षिण एसियाली महिला फुटबलको राम्रो टोली नेपालले अहिलेसम्म भारतको बर्चस्व तोड्न सकेको छैन । सबै संस्करणको उपाधि भारतले जितेको छ । घरेलु फुटबलमा महिला खेलाडीमाथि लगानी नगर्दा बंगलादेश जस्ता देशले नेपाललाई हराउन थालेका छन् ।