काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज भोली बिहिबारबाट नेपालमा आयोजना हुदैछ ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली र पपुवा न्यु गिनी(पीएनजी) खेल्दै छन् । कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
नेपाल र पीएनजीबीच गत वर्ष भएको एकदिवसीय सिरिज पीएनजीले क्लिन स्विप गरेको थियो । टियु मैदानमा लगातार दुई खेलमा नेपाललाई पराजित गरेको पीएनजीको प्रदर्शन टियु मैदानमा राम्रो रहेको छ ।
नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीले नेपाली भुमीमा शतप्रतिशत जितको नतिजा निकालेको छ ।
नेपालले पीएनजीसँगको पहिलो पटक टियु मैदानमा मार्च २५ २०२२ मा खेलेको थियो । मार्च २५ बाट नेपाल र पीएनजीबीचको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज सुरु भएको थियो । मार्च २५ मा भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।
टस जितेर पहिले बलिङ गरेको नेपालले पीएनजीलाई ५० ओभरमा ८ विकेट लिएर २ सय ९२ रनमा आउट गरेको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र कमलसिंह ऐरीले समान २/२ विकेट लिएका थिए । पीएनजीका लागि चाल्र्स अमिनीले ७७ तथा असद भालाले ६० रन बनाएका थिए ।
२ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउँन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाउने क्रममा १ सय २६ रन बनाए । उनले १ सय ७ बल खेलेका थिए । आरिफ शेखले ३४ रन बनाए ।
नेपालले पीएनजीविरुद्धको टियु मैदानमा दोस्रो खेल सोही भएको सिरिजकै क्रममा खेलेको थियो । मार्च २६ २०२२ मा भएको खेलमा नेपाल पुनः पराजित भएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका दीपेन्द्र सिंह ऐरीको १ सय ५ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । नेपालका लागि ऐरीले १ सय ४० बलमा १ सय ५ रन बनाएका थिए । पीएनजीका लागि आलि नवले ३ तथा नर्मन भानुवाले २ विकेट लिएका थिए ।
२ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३ तथा पवन सर्राफले २ विकेट लिएका थिए । पीएनजीका लागि लिगा सियाकाले ९० तथा रिले हिरुकेले ४८ रन बनाएका थिए ।
लगातारको दुई जित निकाल्दै नेपालविरुद्ध पीएनजीले सो सिरिज क्लिन स्विप गरेको थियो । तर,अहिलेको स्थिती परिर्वतन भएको छ । घरेलु मैदानमा नेपाल ६ देखि अपराजित रहेको छ । नेपालले पछिल्लो ५ एकदिवसीय अन्तराष्ट्रिय खेलमा १ मा मात्र हार ब्यहोरेको छ ।
शीर्ष ३ मा रहदै विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाललाई नेपाली भुमीमा राम्रो प्रदर्शन गरेको पीएनजीलाई पराजित गर्न सहज भने छैन ।