काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज भोली बिहिबारबाट नेपालमा आयोजना हुदैछ ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली र पपुवा न्यु गिनी(पीएनजी) खेल्दै छन् । कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
नेपाल र पीएनजीले यस अघि धेरै पटक खेलेका छन् । नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीले नेपाली भुमीमा शतप्रतिशत जितको नतिजा निकालेको छ ।
पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ ।
नेपाल र पीएनजीबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल ओमानमा भएको दुईदेशीय सिरिजमा भएको थियो । सेप्टेम्बर ७ २०२१ मा भएको यस खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । ओमानको अल अमिरित क्रिकेट मैदानमा भएको यस खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो ।
नेपालले सो खेलमा ओमानलाई ३३ ओभरमा १ सय ३४ रनमा अलआउट गरेको थियो । पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका थिए । विक्रम सोब र कुशल मल्लले समान २/२ विकेट लिएका थिए । पीएनजीका लिगा सियाकाले ३० तथा चाल्स अमिनीले २३ रन बनाएका थिए । १ सय ३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि हालका कप्तान रोहित कुमार पौडेलले ४१ तथा आसिफ शेखले ३० रन बनाए ।
आसिफले सोहि खेलबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यु गरेका थिए । सोमपाल कामीले अविजित २२ रन बनाउदै नेपाललाई जिताएका थिए । पीएनजीका लागि सो खेलमा गौडी टोकाले ३ विकेट लिएका थिए ।
पीएनजीविरुद्धको दोस्रो खेल नेपालले सोहि सिरिजमा खेलेको थियो । सो खेलमा नेपाल १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । अल अमिरेत मैदानमा भएको सो खेलमा नेपालले रात्रीकालीन एकदिवसीय अन्तराष्ट्रिय खेलमा डेब्यु गरेको थियो । ऐतिहासिक खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले ४९ ओभर ३ बलमा अलआउट हुदै २ सय ३३ रन बनाएको थियो ।
नेपालका लागि सो खेलमा हालका कप्तान रोहितकुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ८६ रन बनाएका थिए । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट हुँदा करण केसीले २६ बलमा ४२ रन बनाएका थिए । पीएनजीका लागि चाड सोपारले ३ तथा कबुअ मोरिया र नर्मन भानुवाले समान २/२ विकेट लिएका थिए।
२ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा ८२ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले ५ ओभर १ बलमा ११ रन खर्चिएर ६ विकेट लिएका थिए । यो नै उनको एकदिवसीय अन्तराष्ट्रियमा सबैभन्दा राम्रो बलिङ हो । विक्रम सोब,सुसन भारी र सोमपाल कामीले समान १/१ विकेट लिएका थिए ।
नेपालले पीएनजीसँग तेस्रो खेल यूएईमा भएको विश्वकप लिग टू अन्तर्गतको नेपाल,यूएई तथा पीएनजीबीचको त्रिदेशीय सिरिजमा भएको थियो । १६ मार्च २०२२ मा भएको सो खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले ३ तथा आरिफ शेखले १ विकेट लिएका थिए । पीएनजीका लागि चाल्र्स अमिनीले ५० तथा चाड सोपारले ३५ रन बनाएका थिए ।
२ सय ५ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि हालका कप्तान रोहितकुमार पौडेलले ६० तथा आरिफ शेखले ४९ रन बनाए । पीएनजीका लागि रिलि हिरुके र आलि नवोले समान २/२ विकेट लिए ।
उक्त सिरिजको क्रममा नै नेपालले पीएनजीसँग चौथो खेल खेलेको थियो । मार्च २२ २०२२ मा भएको सो खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको थियो । सो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए । पीएनजीका लागि असद भालाले ४५ तथा चाड सोपारले २२ रन बनाएका थिए।
१ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रन बनाए । पीएनजीका लागि चाल्र्स अमिनिले २ तथा कबुअ मोरायाले १ विकेट लिए ।
नेपालले पीएनजीसँगको पाँचौ खेल नेपालमा नै खेलेका थियो । मार्च २५ २०२२ मा नेपाल र पीएनजीबीचको दुई खेलको एकदिवसीय सिरिज सुरु भएको थियो । मार्च २५ मा भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । टस जितेर पहिले बलिङ गरेको नेपालले पीएनजीलाई ५० ओभरमा ८ विकेट लिएर २ सय ९२ रनमा आउट गरेको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र कमलसिंह ऐरीले समान २/२ विकेट लिएका थिए । पीएनजीका लागि चाल्र्स अमिनीले ७७ तथा असद भालाले ६० रन बनाएका थिए ।
२ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउँन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलले पहिलो शतक बनाउने क्रममा १ सय २६ रन बनाए । उनले १ सय ७ बल खेलेका थिए । आरिफ शेखले ३४ रन बनाए ।
नेपालले पीएनजीविरुद्धको छैटौं खेल नेपालमा भएको सिरिजकै क्रममा खेलेको थियो । मार्च २६ २०२२ मा भएको खेलमा नेपाल पुनः पराजित भएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका दीपेन्द्र सिंह ऐरीको १ सय ५ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । नेपालका लागि ऐरीले १ सय ४० बलमा १ सय ५ रन बनाएका थिए । पीएनजीका लागि आलि नवले ३ तथा नर्मन भानुवाले २ विकेट लिएका थिए ।
२ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३ तथा पवन सर्राफले २ विकेट लिएका थिए । पीएनजीका लागि लिगा सियाकाले ९० तथा रिले हिरुकेले ४८ रन बनाएका थिए ।
नेपालले पीएनजीसँग छैटौं खेल यूएईमा भएको विश्वकप लिग टू अन्तर्गतको नेपाल,यूएई तथा पीएनजीबीचको त्रिदेशीय सिरिजमा भएको थियो । छैटौं भेटमा नेपाल ४ विकेटले विजयी भएको थियो । सो खेलमा टस जितेर नेपालले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पीएनजीले ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिएका थिए । पीएनजीका असद भाला र चाड सोपारले समान ३६/३६ रन बनाएका थिए ।
२ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय ईनिङ खेल्दा आसिफ शेखले ४४ रन बनाएका थिए । पीएनजीका लागि असद भालाले ३ तथा सेसे बाउले १ विकेट लिएका थिए ।
सो सिरिजमा नेपाल र पीएनजीको आठौं तथा पछिल्लो भेट भएको थियो । पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको खेलमा ४९ ओभर २ बलमा अल आउट हुदै १ सय ७९ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २/२ तथा करण केसी,सन्दीप लामिछाने र कुशल मल्लले समान १/१ विकेट लिएका थिए । पीएनजीका लागि टोनी उराले ३९ तथा हिरी हिरीले ३१ रन बनाएका थिए ।
१ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले अविजित ८६ रनको अर्धशतकीय ईनिङ खेले । सन्दीप लामिछानेले अविजित ३५ रन बनाएर नेपाललाई जित दिलाएका थिए । पीएनजीका लागि असद भालाले ३ तथा सेमो कमियले २ विकेट लिए ।