काठमाडौं । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा आज दुई खेल हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् ।
दिउँसो साढे १ बजे सूरु हुने खेलका उत्रन लागेका दुवै टोलीको लक्ष्य नकआउट चरणमा स्थान बनाउनुनै हुनेछ । समुह चरणको अन्तिम खेलमा भिड्न लागेका दुवै टोलीको नतिजाले क्वार्टरफाईनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
फ्रेन्ड्सलाई बराबरी समेत नकआउट चरणमा पुर्याउन पर्याप्त छ । मनाङलाई भने जित्नैपर्ने समिकरण तय भएको छ ।
यस्तो छ समिकरण :
फ्रेन्ड्सले एकमा जित र दुईमा बराबरी गर्दै ५ अंक जोडेको छ । मनाङले मात्र एक खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । ललितपुरे क्लब थ्रीस्टार प्रतियोगिताबाट बाहिरिसकेको छ ।
सोही समुहको अर्को खेलमा हिमालय शेर्पा क्लब र सुदुरपश्चिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । अपरान्ह ४ बजे हुने खेलको विजेता टोलीले नकआउट चरणमा स्थान पक्का गर्नेछ । दुवै टोली क्वार्टरफाईनलमा पुग्न समुह चरणको अन्तिम खेलमा आज जित्नैपर्ने दबाबमा छन् ।
यस्तो छ समिकरण : हिमालय शेर्पा र सुदुरपश्चिम फुटबल क्लबको समान ४ अंक छ । गोल अन्तरका आधारमा शेर्पा क्लब अगाडी छ । त्यसैले खेल बराबरी भएको खण्डमा सुदुरपश्चिमलाई पछाडी पार्दै हिमालय शेर्पाले नकआउट चरणको यात्रा तय गर्नेछ ।