काठमाडौं । एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गतको लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा वन्तलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।
लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे ।
रघुराज वन्तबारे -
नेपाली खेलकुदमा रघुराज वन्तका थुप्रै आयामहरु छन्।
नेपाली खेलकुद क्षेत्रमा उनी एउटा यस्ता ऐतिहासिक पात्र हून्, जसले खेलाडीका रुपमा ओलम्पिक सम्मको उच्चतम यात्रा तय गरे, प्रशिक्षकका रुपमा उत्कृष्ट खेलाडीहरु उत्पादन गरे । पदाधिकारीका रुपमा एथलेटिक्स संघ हाँके अनि राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव सम्म भए।
खेलकुदमा यस्ता पात्र दोस्रो छैनन्।
खेलकुदमा फक्रिन माहोल चाहिन्छ, रघुराज यस मानेमा भाग्यमानी थिए की चाक्सीबारीको आफ्नै घरमा उनले त्यो वातावरण भरपुर मात्रामा पाए।
बुबा गणेश राज वन्त नरशम्शेरको पालाका नामूद फुटबल खेलाडी। उ बेला भारतबाट हक्की स्टिक ल्याएर नेपालमा खेल्ने पुस्ताका खेलाडी।
बुबा, बाजे दरबारमा काम गर्ने। शहिद धर्मभक्त माथेमा आफ्नै फुपुको छोरा।
अनि रघुराज वन्त के कम र।
शारिरीक सुगठनका शौखिन उनी २४ वर्षमा मिस्टर काठमान्डू बनेका थिए।
उनले नखेलेको खेल पनि कम छ। फुटबल, रक क्लाम्विङ, हक्की, टेबल टेनिस र बक्सिङ पनि। कायाकिङका त पहिलो ब्याचका खेलाडी हुन वन्त।
यद्यपी उनको प्रिय खेल हो एथलेटिक्स र उनको विधा १०० मिटर प्रिन्ट, जहाँबाट वन्तको वास्तविक छवी खुलेको थियो। १०० मिटरमा एकछत्र राज गरेका उनी ७ वर्ष लगातार च्याम्पियन भएका थिए।
पढाईमा अब्बल, चाक्सीबारी घरानाका अनि हक्की स्वभावका वन्त तत्कालिन राजकुमार धिरेन्द्र शाहलाई हात मिलाउँदा ५ वर्ष निलम्बनमा परेको थियो। तर सरकारबाटै माफि पनि भएको थियो रे।
खेल्दा खेल्दै वन्त जापानमा पढ्न गए। त्यहाँ स्पोर्ट्स फिजोलोजी पढ्दा नेपालका एक समयका चर्चित जर्मन प्रशिक्षक गुन्टर लाँगे उनका क्लास मेट थिए। र
त्यो ज्ञानलाई उनले नेपालमा बाँडेका हुन्। बैकुण्ठ मानन्धरले पहिलो दक्षिण एसियाली खेलकुदमा पहिलो स्वर्ण जित्दा वन्त उनका मेन्टर थिए। नेपाली सेनालाई त उनले धेरै वर्ष च्याम्पियन बनाए।
वन्तले जीवनमा खेलकुद बाहेक अरु कुरा सोच्दै सोचेनन्। जे गरे खेलकुदकै लागि गरे।
८० को दशकमा वन्त रोड रेसका पायोनियर थिए । आफ्ना सहकर्मी /चेलाहरुले उनको सम्मानमा "वन्त गोल्डेन स्प्रिन्ट मिट" नामको प्रतियोगिता नै शुरु गरेको थिए।
प्रजातन्त्र प्राप्ती पछि नेपाल एथलेटिक्स संघको अध्यक्ष बनेका वन्त राखेपको सदस्य हुंदै कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव बने।
तर पदाधिकारीको रुपमा जिम्मेवारी बहन गर्दा भने उनको यात्रामा थुप्रै आरोह अवरोह आयो। फलत उनले यी सबै जिम्मेवारीहरु एकैपटक चटक्कै त्यागिदिए।
खेलकुदमा चुर्लुम्म डुबेका ब्यक्ति एकाएक खेलकुदबाट टाढिन खोजेका थिए आध्यात्मिक दुनियाँमा।
तर मनले के मान्थ्यो र। भौतिक रुपमा उपस्थिति नभएपनि भित्रभित्रै खेलाडीहरुलाई निरन्तर सहयोग गरिनै रहे वन्तले।
उनको पुनरागमन भयो १२ औं साग पछि। अझ बलियो मनोबलका साथ, नयाँ नयाँ खेलाडी खोज्ने अभियानका साथ।
भयो त्यही नै। खेलाडीको क्षमता पढ्न अब्बल उनले दुई वर्षको विचमा नै उनले सन्तोषी श्रेष्ठ जस्तो खेलाडी उत्पादन गरे। जसले १३ औं सागमा पहिलो महिला एथलेटिक्स खेलाडिको कीर्तिमान रच्दै सागमा स्वर्ण जितिन्।
अहिले ७२ वर्षका भए रघुराज वन्त। पुरै जीवन खेलकुदमा समर्पित भइसक्यो, खेलकुदबाट जति पाए त्यो भन्दा वढी दिइसके।
र अहिले उनले एउटा लक्ष्य कोरिसकेका छन् सन्तोषी जस्तै खेलाडीहरु उत्पादन गर्दै जाने। यसरी नै बाँकी जीवन एथलेटिक्स ट्रयाकमै बिताइदिने।
दशरथ रंगशामा पुग्नुपर्छ, उनी त्यहाँ कुनामा बसेर खेलाडी नियालीरहेका भेटिन्छन्। न उनलाई पुर्व पदाधिकारी हुनुको घमण्ड छ न ओलम्पियन हुनुको शान झार्ने शौख। न कसैबाट केही पाउने आश।
खेलकुद क्षेत्रले उनलाई कतिको चिने थाहा छैन। नेपाल खेलकुद पत्रकार मञ्चले भने उनलाई उनको आजीवन योगदानको उच्च मुल्याँकन गर्छ र प्रदान गर्दछ एनएसजेएफ लाइभटाइम एचिभमेन्ट अवार्ड २०७८।