काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने विदेश जान पाउने भएका छन् ।
सर्वोच्च अदालतले सोमबार सन्दीपलाई विदेश जान अनुमति दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै सन्दीपलाई विदेश जान समेत अनुमति दिएको हो।
सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए।
सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए।
महान्यायाधिवक्ता कार्यालयले माघ १७ गते सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । तर, उनलाई विदेश जान भने रोक लगाएको थियो ।
यस्तै क्रिकेट खेल्न विदेश जान पाउ भन्दै सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले आइतबारका लागि पेशी तोक्न आदेश दिएको थियो । आइतबार सन्दीपको मुद्दा हेर्दा हेर्दैमा रहेको थियो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।