काठमाडौं । आईसीसी विश्वकप लिग टू सिरिजमा शीर्ष ३ मा रहि सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।
शीर्ष ३ मा पर्न नेपालले अव बाँकी रहेको मध्ये ७ खेल जित्नुपर्ने भएको छ ।
नेपालले अव विश्वकप लिग टूको २ त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ८ खेल्न बाँकी रहेको छ ।
शनिबार भएको विश्वकप लिग टू को अन्तिम खेलमा यूएईविरुद्ध नामिबियाले सानदार जित हात पारेसँगै यस्तो समिकरण बनेको हो ।
विश्वकप लिग टू को शीर्ष तीन टोलीले जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ विश्वकप लिग टू को च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ ।
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेको छ ।
अव नेपाल, नामिबिया र युएई मध्ये एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।
नामिबियाले ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकमा विश्वकप लिग टू को अन्त्य गरेको छ ।
नेपालले अव यूएई र पपुवा न्युगिनीसँग ४/४ खेल खेल्न बाँकी रहेको छ ।
नेपालले शीर्ष ३ मा पर्न नामिबियालाई पछाडी पार्नुपर्ने हुन्छ । नामिबियाको ३९ अंक रहेको छ । नामिबियालाई पछि पार्न ८ मध्ये ७ खेल जित्नुपर्ने हुन्छ ।
यदी नेपालले बाँकी सबै खेल जित्दा ४२ तथा ७ खेलमा जित्दा ४० अंक हुनेछ । यसो गर्दा नेपालले नामिबियालाई पछाडी पार्नेछ । त्यसैले नेपालले ८ मध्ये ७ खेल मात्र जितेको खण्डमा शीर्ष तीनमा पर्नेछ ।
तर, नेपालले कम्तिमा यूएईलाई अव चार मध्य तीन खेलमा हराउनु पर्ने हुन्छ ।
यूएई नेपालसँग तीन खेलमा हार र बाँकी सबै खेलमा जित निकाल्दा ३९ अंकमा मात्रै पुग्नसक्छ । नेपालले युएईसँग एक खेलमा हार र बाँकी सबै खेलमा जित निकाल्दा ४० अंक हुनेछ ।
जुन नेपाललाई शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पर्याप्त हुनेछ । नेपाल दुई खेलमा पराजित भएमा शर्षि ३ मा रहँदै सोझै विश्वकप छनोटको सम्भावना समाप्त हुनेछ ।
नेपालका बाँकी खेल
चार खेल यूएईमा गएर खेल्ने नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ ।
नेपाली टिम आज यूएई भ्रमणमा गएको नेपाली टोलीले त्यहाँ घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
यूएई भ्रमणको केही समयमा नै नेपालले आफ्नो घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्युगिनीलाई अन्तिम विश्वकप लिग टू खेलका लागि निमन्त्रणा दिने छ ।
टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।