काठमाडौं । आयोजक टोली केपी ओली एफसीले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।
एन्फा कम्प्लेक्समा शनिबार जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो ।
निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा आयोजकले बाजी मार्यो ।
पेनाल्टीमा केपी ओली एफसीका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बु, र अनिल महर्जनले गोल गरे ।
जवालाखेलका सिमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गरे ।
तर, जावलाखेलका एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहार आयोजक टोलीका गोलकिपर पूर्ण चेम्जोङले बचाए ।
पेनाल्टी अघि खेलको ४२ औं मिनेटमा राहुलले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६८ औं मिनेटमा अजयी मार्टिन्सले गोल गर्दै केपी ओली एफसीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
अब आयोजक टोलीले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।