काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम एपीएफले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सरस्वतीलाई ३–० गोल अन्तरले हराएको हो ।
लिगको सातौ चरणमा सहज जित निकाल्दै एपीएफ तालिकाको सातौ स्थानमा उक्लिएको छ । पहिलो हाफमै २–० को अग्रता बनाएको एपीएफले प्रर्दशनमा सुधार गरेको देखायो ।
गोल गर्न संघर्षरत एपीएफले खेलको १८ औ मिनेटमा रुपबहादुर लामाको गोलबाट अग्रता लिएको थियो । श्याम नेपालीको कर्नरमा उनले हेडमार्फत गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो गोल ४३ औ मिनेटमा सम्भव भयो । युवराज लामाले डि बक्सभित्रबाट प्रहार गरेको बलले सिधै पोस्टको जाली चुम्यो । जसमा सरस्वतीका गोलकिपर मुखदर्शक रहे ।
३० औ मिनेटमा एपीएफका युवराज खड्काको हेड बल पोलमा लागेर बाहिरिएको थियो । खेल सकिन तीन मिनेट बाँकी छदाँ एपीएफका रुप लामाले ब्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को सहज जित दिलाए ।
सरस्वतीले २१ औ मिनेटमा गतिलो आक्रमण गरेको थियो । कप्तान रमेश तामाङको फ्रिकिकलाई एपीएफका गोलकिपर अमृत चौधरीले मुस्किलले बचाएका थिए । दोस्रो हाफमा केही आक्रमक देखिएको सरस्वतीले गोल निकाल्न सकेन ।
जितपछि एपीएफ १० अंक सहित तालिकाको सातौ स्थानमा छ । सरस्वती ६ अंक सहित नवौ स्थानमा यथावत छ ।