एजेन्सी । पाहुना टोली अष्ट्रेलियाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । बिहिबार राती तीन खेलाडीले शतक बनाएको चौथो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
अष्ट्रेलियाले दिएको ३११ रनको लक्ष्य इंग्ल्यान्डले ४४ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो । यो जितसँगै इंग्ल्यान्डले पाँच खेलको सिरिजमा ४ – ० को अग्रता बनाएको छ । सिरिज इंग्ल्यान्डले यसअघि नै जितिसकेको छ ।
चेस्टरमा अष्ट्रेलियाले दिएको उच्च रन सहजै पुरा गर्न इंग्ल्यान्डका जासन रोयले १०१ रनको शतकीय पारी खेले । यस्तै जोनी बेरिष्टोले ७९ रन, जोस बटलरले अविजित ५४ रन र एलेक्स हेल्सले अविजित ३४ रन जोडे । अष्ट्रेलियाका अश्टोन अगरले २ विकेट लिए । यो इंग्ल्यान्डको अहिलेसम्मकै उच्च लक्ष्यको जित हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३१० रन जोडेको थियो । अष्ट्रेलियाको लागि शौन मार्शले १०१ र आरोन फिन्चले १०० रनको शतकीय पारी खेले । यस्तै टार्भिस हेडले ६३ रन बनाए । इंग्ल्यान्डका डेभिड विलिले ४ तथा मार्क वुड र आदील राशिदले समान २ – २ विकेट लिए ।