एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४ - ० गोल अन्तरले पराजित गरेको हो ।
स्पानियोलको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै ओसुमाने डेम्बेले र लुइस स्वारेजले एक एक गोल गरे ।
घरेलु टोलीविरुद्ध सहज जित निकाल्ने क्रममा मेस्सीले १७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको अग्रता २ - ० को बनायो ।
पहिलो हाफको अन्तिम मिनेटमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३ - ० ले अघि रह्यो । त्यसपछि खेलको ६५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४ - ० को सहज जित दिलाए । मेस्सीले फ्रिकिकबाट उत्कृष्ट गोल गरेका थिए ।
जितसंगै बार्सिलोनाले १५ खेलबाट ३१ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको सेभियाभन्दा ३ अंकले अघि छ । २१ अंक जोडेको स्पानियोल नवौं स्थानमा छ ।