एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शनिबार भएको खेलमा युनाइटेडले फुलहमलाई ४ - १ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन एस्ले योङ, हुवान माटा, रोमेलु लुकाकु र मार्कुस राष्फोर्डले एक एक गोल गरे । १० खेलाडीमा सिमित फुलहमका अबौबाकर कामराले एक गोल फर्काए ।
यस सिजन उच्च प्रदर्शन गर्न नसकिरहेको युनाइटेडले खेलको १३ औं मिनेटमा योङको गोलबाट अग्रता बनाएको थियो । खेलको २८ औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । ४२ औं मिनेटमा लुकाकुले गोल गर्दा पहिलो हाफमा युनाइटेड ३ - ० ले अघि रह्यो ।
दोस्रो हाफमा फुलहम खेलमा फर्कने कोशिस गर्यो । खेलको ६७ औं मिनेटमा पाएको पेनाल्टीमा कामराले गोल गर्दै खेल ३ - १ को स्थितिमा ल्याए । तर, ६८ औं मिनेटमा आन्द्रे जाम्बोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा फुलहम १० खेलाडीमा समेटियो । जसको फाइदा युनाइटेडले उठायो । त्यसपछि खेलको ८२ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ४ - १ को जित दिलाए ।
जितसंगै जोसे मौरिन्होको टिम युनाइटेड लिगको छैटौं स्थानमा रहेको छ । युनाइटेडले १६ खेलबाट २६ अंक जोडेको छ । लिगमा युनाइटेडको यो सातौं जित हो ।
फुलहम ९ अंक जोडेर लिगको पुछारमा छ ।