एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविकको विजेता युभेन्ट्सले अपराजित यात्रा कायम राखेको छ ।
शुक्रबार राति भएको खेलमा इन्टर मिलानलाई १ - ० ले पराजित गर्दै युभेन्ट्सले जितको यात्रालाई कायम राखेको हो ।
घरेलु मैदानमा भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा मारियो मान्डजुकिक नायक बन्दा युभेन्ट्सले महत्वपूर्ण ३ अंक जोडेको हो । युभेन्ट्सका लागि मान्डजुकिकले नै निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा मान्डजुकिकले गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका हुन् ।
जितसंगै लिग लिडर युभेन्ट्सले शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ । इन्टरविरुद्धको जितसंगै युभेन्ट्सले दोस्रो स्थानको क्लबविरुद्ध ११ अंकको अग्रता बनाएको छ ।
युभेन्ट्सले १५ खेलबाट ४३ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको १४ खेलबाट ३२ अंक छ । पराजित इन्टरले १५ खेलबाट २९ अंक जोडेको छ । इन्टर लिगको तेस्रो स्थानमा छ ।