काठमाडौं । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको नाम लेखिएको जर्सी लगाएर चर्चित बनेका अफगानिस्तानका बालक मुर्ताजा महमदीलाई आतंककारी समूह तालिवानले मार्ने धम्की दिएको छ ।
तालिवानले मार्ने धम्की दिएपछि 'फुच्चे मेस्सी' उपनाम पाएका मुर्ताजाले घर छाडेका छन् । सात बर्षीय बालक मुर्ताजाको परिवार अफगानिस्तानको दक्षिण पूर्वी गाजिया प्रान्तमा बस्दै आएका थिए । तर, पटक पटक तालिवानको धम्की आएपछि उनको परिवार राजधानी काबुलबाट पनि सरेको अन्तर्राष्ट्रिय समचार संस्था बीबीसीले जनाएको छ ।
मुर्ताजाका चार दाजुभाईसहितको परिवार अहिले काबुलको एक अपार्टमेन्टमा एक कोठा लिएर बसेका थिए । मुर्ताजाको आमा शाफिकले तालिवानका स्थानीय प्रशासकले छोरालाई लैजाने बताएको कारण घर छाडेको एएफपीसंग बताएका छन् ।
'तिमीहरु धनी भएका छौं । मेस्सीले तिमीहरुलाई पैसा दिने गर्छ,' तालिवानले धम्की उद्दृत गर्दै मुर्ताजाको आमा शाफिकले भने, 'मेस्सीबाट आएको पैसा हामीलाई देऊ वा हामी तिम्रो छोरा लैजान्छौ ।'
सन् २०१६ मा मेस्सी लेखिएको प्लास्टिकको जर्सीमा फुटबल खेल्दै गरेको तस्वीर सार्वजनिक भएपछि मुर्ताजा चर्चामा आएका थिए । सामाजिक संजालमा भाइरल भएपछि मेस्सीले मुर्ताजालाई कतारको दोहामा भेटेका थिए ।
बार्सिलोना र कतारी क्लब अल अलीबिचको मैत्रीपूर्ण खेलको दौरान मेस्सीसंगै मुर्ताजा पनि मैदानमा छिरेका थिए । यस्तै मेस्सीले उनलाई आफ्नो हस्ताक्षर भएको अर्जेन्टिनाको जर्सी उपहार पठाएका थिए ।