एजेन्सी । रियल मड्रिड फराकिलो जितसहित स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिहिबार राति भएको दोस्रो लेग खेलमा तेस्रो डिभिजनको क्लब मेलिलालाई ६ - १ गोल अन्तरले हराएर रियलले अन्तिम १६ को यात्रा तय गरेको हो । दोस्रो लेगको फराकिलो जितसंगै रियलले समग्रमा १० - १ को जित निकालेर अन्तिम १६ मा स्थान बनाएको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन मार्को एसेन्सियो र इस्कोले समान २/२ गोल गरे । यस्तै जाभियर सान्चेज र भिन्सियस जुनियरले एक एक गोल गरे । मेलिलाका यासिन क्वास्मीले एक गोल फर्काए ।
अधिकांस पहिलो रोजाईका खेलाडीलाई विश्राम दिइएको खेलको ३३ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । खेलको ३९ औं मिनेटमा सान्जेजले गोल गरेपछि रियलले पहिलो हाफमा ३ - ० को अग्रता बनायो ।
दोस्रो हाफमा पनि रियलले गोल गर्ने क्रमलाई निरन्तरता दियो । खेलको ४८ औं मिनेटमा इस्कोले गोल गर्दा रियलको अग्रता ४ - ० को बन्यो । ७५ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ५ - ० को अग्रता दिलाए । ८० औं मिनेटमा पाएको पेनाल्टीमा मेलिलाका क्वास्मीले गोल गर्दै खेल ५ - १ मा ल्याए । तर, खेलको ८३ औं मिनेटमा इस्कोले व्यतिगत दोस्रो गोल गर्दै रियललाई ६ - १ को फराकिलो जित दिलाए ।
कोपा डेल रे अन्तर्गत नै बिहिबार रातिको दोस्रो लेगमा जित निकाल्दै लेभान्टे, स्पोर्टिङ गीजोन र रियल बेटिसले अन्तिम १६ को यात्रा तय गरेका छन् ।