काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब थ्री स्टारले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
थ्री स्टारले मंगलबार प्रशिक्षक केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
थ्री स्टारले एक वर्षका लागि केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
'थ्री स्टारको विशेष आग्रह अनुसार सम्झौता गरेको छु,' मुख्य प्रशिक्षक नियुक्त भएपछि केसीले भने, 'क्लबलाई पनि गार्हो अवस्था छ । क्लबलाई राम्रो स्थान दिने योजना छ ।'
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
अघिल्लो सिजन केसीले सातदोबाटो युथ क्लब हेरेका थिए ।
यस्तै थ्री स्टारले उज्ज्वल मानन्धरलाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
मेघराजलाई घरेलु फुटबलको हाइ प्रोफाइलका प्रशिक्षक मानिन्छ । उनले विभागीय टिम आर्मी सहित नेपालका शीर्ष डिभिजनका ठुला क्लब हेरेको अनुभव छ ।
गत सिजन नवप्रवेशी सातदोबाटो युथ क्लबलाई लिगको चौथों स्थान दिलाएर उनले सनसनी मच्चाएका थिए । औसत टिमबाट राम्रो नतिजा निकाल्ने खुबी भएका मेघराजले नयाँ सिजनका लागि थ्री स्टार फर्कने निर्णय गरेका हुन् ।
'समाजमा बसेपछि वरपरको अनुरोध मान्न पर्ने रहेछ । सबैको एकप्रकारको दबाब जस्तो पनि रह्यो ।' मेघराजले भने, 'अहिले त अझ अवस्था गाह्रो छ । त्यही भएर पनि मैले थ्री स्टार फर्कने निर्णय गरेको हो ।'