एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सी पराजित भएको छ । बुधबार राति भएको खेलमा चेल्सी वुल्भ्ससंग २ - १ गोल अन्तरले पराजित भएको हो ।
वुल्भ्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले ३ अंक गुमाएको हो । खेलको १८ औं रोबिन लोफ्टसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा वुल्भ्सले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ५९ औं मिनेटमा राउल जेमिनिजले गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काए । त्यसपछि खेलको ६३ औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि वुल्भ्सले २ - १ को महत्वपूर्ण जित निकाल्यो ।
बल पोजिसनमा एकतर्फी पकड बनाएपनि चेल्सीले गोल गर्न नसक्दा पराजय व्यहोर्यो । यो हारसंगै चेल्सीले लिगको तेस्रो स्थान गुमाएको छ । १५ खेलबाट ३१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।
चेल्सीलाई स्तब्ध बनाएको वुल्भ्स १५ खेलबाट १९ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ ।