काठमाडौं । इंग्लिश प्रिमियर लिगमा फुटबलमा दोस्रो स्थानको लिभरपुलले पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३ - १ गोल अन्तरले हराएको हो ।
लिभरपुलले सुरुवाती अग्रता उल्टाएर बर्नलीलाई उसैको मैदानमा हराएको हो । लिभरपुलको जितमा जेम्स मिल्नर, रोबर्टो फिर्मिन्हो र शाकिरीले एक एक गोल गरे । बर्नलीका ज्याक कोर्कले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा कोर्कको गोलबाट बर्नलीले सुरुवाती अग्रता बनाएको थियो । तर, ६२ औं मिनेटमा मिल्नरको गोलबाट लिभरपुल खेलमा फर्कियो ।
दोस्रो हाफमा निकै आक्रमक देखिएको लिभरपुलले खेलको ६९ औं मिनेटमा फिर्मिन्होको गोलबाट २ - १ को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा शाकिरीले गोल गर्दै लिभरपुललाई ३ - १ को जित दिलाए ।
जितसंगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अंक दुरी घटाएको छ । लिभरपुलले १५ खेलबाट ३९ अंक जोडेको छ । सिटीको ४१ अंक छ । रेलिगेसन क्षेत्रको बर्नलीको ९ अंक छ ।