काठमाडौं । राष्ट्रिय फुटबल टिमका पुर्व सदस्य शिव श्रेष्ठ नेपाल फर्किएका छन् । बैदेशिक रोजगारीका लागि कतार गएका शिव गत शुक्रबार नेपाल फर्किएका हुन् ।
घरेलु फुटबलमा लिग सुरु भएपछि फुटबल खेल्न नेपाल आउने निर्णय गरेको शिवले खेलपाटीलाई बताए ।
उनले कतारको मेट्रो प्रोजेक्टमा करिब साढे २ बर्ष काम गरेका थिए । एन्फा आन्तरिक किचलोमा फसेर करिब ५ बर्ष लिग नहुदाँ धेरै फुटबल खेलाडी बैदेशिक रोजगारीका लागि विदेशिएका थिए ।
‘नेपालमा लिग नहुने देखेर बिदेशिएको थिए । अब लिग पनि सुरु भएको छ । फुटबल खेल्न नेपाल फर्किए ।’ उनले भने ।
एन्फाको तेस्रो ब्याजका खेलाडी शिवले विभिन्न उमेर समुह हुँदै राष्ट्रिय फुटबल टिमबाट समेत खेलिसकेको छन् । उनले अन्तिम समय विश्वकप २०१८ को छनोट अन्तर्गत इस्ट टिमोर र जोर्डनविरुद्व नेपाली टिमबाट खेलेका थिए ।
घरेलु फुटबलमा उत्कृष्ट मिडफिल्डरको परिचय बनाएका शिवले लामो समय सिग्नेचर मनाङ मर्स्याङ्दीको जर्सीमा खेलेका थिए । ‘करिब ७ बर्ष मनाङको जर्सीमा खेले । मनाङ मलाई घर जस्तो लाग्छ । अब पनि मनाङबाट खेल्ने रहर छ ।’ उनले थपे ।