एजेन्सी । थिएरी हेनरीको टिम मोनाको फ्रेन्च लिग वान फुटबलको रेलिगेसन क्षेत्रबाट बाहिर निस्किएको छ । मंगलबार राति भएको खेलमा एमियन्सलाई २ - ० ले हराएर मोनाकोले रेलिगेसन क्षेत्र छाडेको हो ।
घरेलु मैदानमा अन्तिम समय १० खेलाडीमा सिमित बनेको एमियन्सविरुद्धको जितमा राडमेल फाल्काओ नायक बने । फाल्काओले दुई गोल गरेपछि मोनाकोले महत्वपूर्ण ३ अंक जोडेको हो । फाल्काओले दुवै गोल पेनाल्टीमा गरेका थिए ।
पहिलो हाफको ४३ औं मिनेटमा पाएको पेनाल्टीमा फाल्काओले गोल गर्दै मोनाकोलाई १ - ० को अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा बकाए डिबासीले रातो कार्ड पाएपछि एमियन्स १० खेलाडीमा समेटियो । त्यसपछि इन्जुरी समयमै मोनाकोले पुन: पेनाल्टी प्राप्त गर्यो । जसमा फाल्काओले सहजै गोल गर्दै मोनाकोलाई २ - ० को जित दिलाए ।
जितसंगै मोनाकोले १६ खेलबाट १३ अंक जोडेको छ । र, लिगको १७ औं स्थानमा उक्लिएको छ ।
यस सिजन खराब प्रदर्शन गरिरहेको मोनाकोको यो तेस्रो जित हो । हेनरी प्रशिक्षक नियुक भएपछि भने यो दोस्रो जित हो । १३ अंक नै जोडेको एमियन्स रेलिगेसन जोनमा रहेको छ ।