एजेन्सी । साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । मंगलबार राति भएको खेलमा वाट्फोर्डलाई २ - १ ले पराजित गर्दै सिटीले अपराजित यात्रालाई कायम गरेको हो ।
वाट्फोर्डको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन लोरी साने र रियाद महरेजले एक एक गोल गरे । वाट्फोर्डका अब्डौलाए डोउकोरेले एक गोल फर्काए ।
घरेलु टोलीविरुद्ध सिटीले ४० औं मिनेटमा सानेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ५१ औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता २ - ० को बनाए । खेलको ८५ औं मिनेटमा वाट्फोर्डका डोउकोरेले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
जितसंगै लिग लिडर सिटीले दोस्रो स्थानको लिभरपुलविरुद्ध पाँच अंकको अग्रता कायम राखेको छ । सिटीले १५ खेलबाट ४१ अंक जोडेको छ ।
एक खेल कम खेलेको लिभरपुलको ३६ अंक छ । वाट्फोर्ड २० अंक जोडेर ११ औं स्थानमा छ ।
लिग अन्तर्गत नै मंगलबार राति भएको अन्य खेलमा ब्राइटनले क्रिष्टल प्यालेसलाई ३ - १, बर्नेमाउथले हडर्सफिल्डलाई २ - १ तथा वेष्ट ह्यामले कार्डिफ सिटीलाई ३ - १ ले पराजित गरेको छ ।