काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र चिनियाँ सुपर लिग क्लब ग्वान्झाउ आर एण्ड एफबीचको मैत्रीपूर्ण खेल रद्द भएको छ ।
आउने जनवरीमा नेपाल र ग्वान्झाउबीचको मैत्रीपूर्ण खेल तय भएको थियो । तर, ग्वान्झाउ क्लबले एन्फा कम्प्लेक्सको आर्टिफिसियल मैदानमा खेल्न नमानेपछि मैत्रीपूर्ण खेल रद्द भएको एन्फा स्रोतले जनाएको छ ।
'ग्वान्झाउ क्लबका पदाधिकारी र (हामी) एन्फाबीच मैत्रीपूर्ण खेल खेल्ने निर्णय भएको थियो,' एन्फा स्रोतले खेलपाटीसंग भने, 'तर, क्लब एन्फा कम्प्लेक्सको ट्रफ मैदानमा खेल्न मानेनन् ।'
मंसिर पहिलो साता ग्वान्झाउ क्लबका प्रतिनिधि र एन्फाबीच मैत्रीपूर्ण खेलबारे छलफल भएको थियो । नेपाल भ्रमणको दौरान चिनियाँ पदाधिकारीले एन्फाको मैदानहरु समेत निरीक्षण गरेका थिए ।
क्लबका प्रतियोगिता समितिको अध्यक्ष याङ कि, टिम व्यवस्थापक हुआङ जुन र कार्यकारी समितिका लिआङ याजिङले नेपाल भ्रमण गर्दै मैत्रीपूर्ण खेल खेल्न सहमति जनाएको थियो । खेल हुने मिति भने तय भएको थिएन ।
यसअघि अफगानिस्तानसंग तय भएको मैत्रीपूर्ण खेल समेत रद्द भएको थियो । मंसिर २७ गते नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण तय भएपनि अन्तिम समयमा फगानिस्तानले नखेल्ने बताएको थियो ।