काठमाडौं । सुर्यकुमार यादवले ५१ बलमा अविजित १ सय १२ रन बनाए पछि तेस्रो तथा निर्णायक टी-ट्वान्टीमा भारतले श्रीलंकालाई पराजित गरेको छ ।
यस खेलमा भारतले ९१ रनको जित हात पारेर सिरिज २-१ ले जित हात पारेको छ ।
राजकोटमा भारतले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले १६.४ ओभरमा अलआउट हुँदै १ सय ३७ रन बनायो ।
श्रीलंकाका लागि कप्तान दशन शनाकाले २३ रन बनाउँदा कुशल मेन्डिसले पनि २३ नै रन बनाए । धनन्जय डा सिल्भा २२ रनमा आउट हुँदा चरिथ असलंकाले १९ रन बनाए ।
पथुम निशंकाले १५ रन बनाउँदा कशुन रन्जिथा ९ रनमा अविजित रहे ।
भारतका लागि अर्शदिप सिंह ३ तथा उमरान मल्लिक,हार्दिक पाण्ड्या र युजभेन्द्र चहलले समान २/२ विकेट लिए । अक्षर पटेलले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो ।
पहिलो ओभरमा नै ३ रन बनाउँदा इशान किशनलाई गुमाएको भारतले राम्रो कमब्याक गरेर २ सय २९ रनको विशाल लक्ष्य बनायो ।
सुर्यकुमार यादवले ५१ बलमा ७ चौका र ९ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । यो उनको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय शतक हो । उनले ४५ बलमा शतक पूरा गरेका थिए ।
शुभमन गिलले ३६ बलमा ४६ रन बनाउँदा राहुल त्रिपाटीले १६ बलमा ३५ रन बनाए । अक्षर पटेलले ९ बलमा अविजित २० रन बनाए ।
श्रीलंकाका लागि दिल्सान मधुशंकाले २ तथा कुशन रन्जिथा,वानिन्दु हसरंगा र चमिका करुणारत्नेले समान १/१ विकेट लिए ।
भारत र श्रीलंकाबीच अब तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।