एजेन्सी । रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डी'ओरको अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको करिब एक दशकको बर्चस्वलाई तोड्दै मोड्रिचले सन् २०१८ को उत्कृष्ट फुटबलर घोषित भएका हुन् ।
३३ बर्षका मोड्रिचले लगातार तीन पटक च्याम्पियन्स लिग जित्नुका साथै क्रोएसियालाई विश्वकप फुटबलको फाईनल पुर्याएका थिए ।
ब्राजिल तथा एसी मिलानका फरवार्ड काकाले सन् २००७ मा यो अवार्ड जितेपछि रोनाल्डो र मेस्सीले पालैपालो यो अवार्ड जित्दै आएका थिए । यस अवार्ड पछिल्लो १० बर्षमा रोनाल्डो र मेस्सीले समान ५/५ पटक जितेका थिए ।
ईटालियन क्लब युभेन्ट्समा आबद्व भएका रोनाल्डो दोस्रो भए । बार्सिलोनाका स्टार मेस्सी पाँचौ स्थानमा रहे । त्यसअघि विश्व विजेता फ्रान्सका एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पे रहे ।
मोड्रिच यसै बर्ष फिफा बर्ष खेलाडी समेत घोषित भएका थिए । उनले विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल समेत प्राप्त गरेका थिए । अवार्ड ग्रहण गर्दै मोड्रिचले विगत १० बर्षमा मेस्सी र रोनाल्डो बाहेक अवार्ड जित्न नसकेका खेलाडीमा आफ्नो विजयललाई समर्पित गरे ।
'यो अवार्ड ती सबै खेलाडीका लागि हो । सायद उनीहरु यो जित्न लायक थिए तर भएनन् । यो बर्ष मेरा लागि निकै विशेष रह्यो ।' उनले भने ।
'मलाई मेरो अनुभुती बाहिर देखाउन र शब्दमा उतार्न निकै गाह्रो भईरहेको छ । यो मेरो लागि निकै पृथक रह्यो र धेरै बिशेष पनि ।' उनले थपे ।
विश्वभरका १८० खेल पत्रकारहरुको मतको आधारमा मोड्रिचले अवार्ड जितेका हुन् । अवार्ड जित्न मोड्रिचले ७ सय ५३ अंक पाएका थिए । रोनाल्डोले ४ सय ७६ अंक प्राप्त गर्दा ग्रीजम्यानले ४ सय १४ अंक पाए । यस्तै एमबाप्पेले ३ सय ४७ तथा मेस्सीले २ सय ८० अंक पाए ।
पहिलोपटक प्रदान गरिएको महिलातर्फको बालोन डी'ओर अवार्ड नर्वे तथा फ्रेन्च क्लब लियोनकी अदा हेगेरबर्गले जितिन् । युवा अवस्थामै उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले कोपा ट्रफी हात पारे ।
फ्रान्सको पेरिसमा सोमबार राति आयोजित एक विशेष कार्यक्रममा विजेता खेलाडीहरुलाई अवार्ड प्रदान गरिएको थियो । विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग सहकार्य गरेर प्रदान गरिदै आएको बालोन डी’ओर पछिल्लो तीन बर्षयता फ्रान्स फुटबल फेडेरेसन आफैले यस अवार्ड प्रदान गर्दै आएको छ ।