एजेन्सी । विश्व फुटबलकै प्रतिष्ठित अवार्ड बालोन डी'ओरको घोषणा आज राति हुँदैछ । फ्रान्सको पेरिसमा एक विशेष कार्यक्रमको अवार्ड घोषणा हुनेछ ।
अवार्ड घोषणा कार्यक्रम नेपाली समय अनुसार राति १:३० मा सुरु हुनेछ । र, अवार्ड घोषणा कार्यक्रममा विश्व फुटबलका हस्तीहरुको उपस्थिति रहनेछ ।
यस अवार्डका लागि आयोजक फ्रान्स फुटबल फेडेरेसन मनोनयनमा परेका ३० खेलाडीको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ । तर, यस पटक उपाधिका मुख्य दाबेदार क्रोएसिया तथा रियल मड्रिडका लुका मोड्रिचलाई हेरिएको छ ।
रियललाई च्याम्पियन्स लिग जिताउन र रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन उनले मुख्य भूमिका खेलेका थिए । यस्तै यसै पटक उनले फिफा बर्ष खेलाडी अवार्ड समेत जितेका थिए ।
मोड्रिचपछि साविकको विजेता क्रिस्टियानो रोनाल्डोलाई समेत उपाधि दाबेदारको रुपमा लिईएको छ । हाल युभेन्ट्समा रहेका रोनाल्डोले गत सिजन रियलबाट च्याम्पियन्स लिग जितेका थिए । यस्तै पोर्चुगल विश्वकपको नकआउट चरणमा पुग्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई समेत उपाधि दाबेदार मानिएको छ । विश्वकपमा उच्च प्रदर्शन गर्न नसकेपनि मेस्सीले बार्सिलोनालाई ला लिगा उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यस्तै ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमार, फ्रान्स तथा पिएसजीकै केलियन एमबाप्पे, फ्रान्स तथा रियलका राफायल भराने लगायतका खेलाडीहरु पनि उपाधि दाबेदार मानिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग सहकार्य गरेर प्रदान गरिदै आएको बालोन डी’ओर पछिल्लो तीन बर्षयता फेडेरेसन आफैले यस अवार्ड प्रदान गर्दै आएको छ । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।
पछिल्लो १० बर्षयता यस अवार्ड रोनाल्डो र मेस्सीले मात्र जित्दै आएका छन् । सन् २००७ मा ब्राजिलियन काकाले जितेपछि यस अवार्ड रोनाल्डो र मेस्सीले समान ५/५ पटक जितेका छन् । यस पटक भने रोनाल्डो र मेस्सीको अधिपत्य अन्त्य हुने अनुमान गरिएको छ ।
अवार्डका लागि मनोनित ३० खेलाडीको सुची हेर्नुहोस् :
सर्जियो अग्युरो (म्यान्चेस्टर सिटी )
ग्यारेथ बेल (रियल मड्रिड)
एलिसन बेकर (लिभरपुल)
करिम बेन्जिमा (रियल मड्रिड)
एडिन्सन काभानी (पिएसजी)
थिबाउट कोर्टियस (रियल मड्रिड)
क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स)
केभिन डि ब्रुएन (म्यान्चेस्टर सिटी)
रोबर्टो फिर्मिन्हो (लिभरपुल)
डिएगो गोडिन (एट्लेटिको मड्रिड)
एन्टोनी ग्रिजम्यान (एट्लेटिको मड्रिड)
इडेन हाजार्ड (चेल्सी)
इस्को (रियल मड्रिड)
ह्यारी केन (टोटनह्याम)
एनगोलो कान्टे (चेल्सी)
हुगो लोरिस(टोटनह्याम)
मारियो मान्जुकिच (युभेन्ट्स)
साडियो माने (लिभरपुल)
मार्सेलो (रियल मड्रिड)
केलियन एम्बाप्पे (पिएसजी)
लियोनल मेस्सी (बार्सिलोना)
लुका मोड्रिच (रियल मड्रिड)
नेयमार (पिएसजी)
जान ओब्लाक (एट्लेटिको मड्रिड)
पाउल पोग्बा (म्यान्चेस्टर युनाइटेड)
इभान राकिटिच (बार्सिलोना)
सर्जियो रामोस (रियल मड्रिड)
मोहमद सलाह (लिभरपुल)
लुइस स्वारेज (बार्सिलोना)
राफायल भराने (रियल मड्रिड)