एजेन्सी । साबिकको विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भिया रियललाई २ - ० ले हराएर बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पीके र कार्लेस अलेनाले एक एक गोल गरे । जितसंगै बार्सिलोनाले सेभियालाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो ।
भिया रियलविरुद्ध खेलको ३५ औं मिनेटमा पीकेको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसपछि खेलको ८७ औं मिनेटमा अलेनाले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
जितसंगै शीर्ष स्थानमा फर्किएको बार्सिलोनाले १४ खेलबाट २८ अंक जोडेको छ । र, बार्सिलोना सेभियालाई १ अंकले पछि पार्यो । सेभियाको २७ अंक छ ।
आइतबार राति नै भएको खेलमा सेभिया डिपोर्टिभो अलाभेससंग १ - १ गोलको बराबरीमा रोकिएको थियो । जसको फाइदा बार्सिलोनालाई पुगेको छ ।
यस्तै लिगको तेस्रो स्थानको एट्लेटिको मड्रिड पनि जिरोनासंग १ - १ गोलको बराबरीमा रोकिएको छ । एट्लेटिकाेको २५ अंक छ ।