काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट दोस्रो दिन नै जितेको छ । दक्षिण अफ्रिका घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो ।
जितसँगै ३ खेलको टेस्ट सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ ।
पाहुना टोलीले दिएको ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४ विकेट गुमाएर लक्ष्य भेट्यो । घरेलु टोलीका लागि स्टिभ स्मिथले ६ तथा मार्नुस लाबुस्छानेले अविजित ५ रन बनाए । पाहुना टोलीले १९ रन अतिरिक्तमा दिएको थियो ।
भ्रमणकारी टोलीका लागि कागिसो रबडाको नाममा ४ विकेट रह्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले पहिलो ईनिङमा १ सय ५२ रनमा सबै विकेट गुमाएको थियो । पाहुना टोलीका लागि कायल भेरिनले ६४ रनको अर्धशतकीय ईनिङ खेले । टेम्बा बभुमाले ३८ तथा सरेल इर्विले १० रन बनाए । कागिसो रबडा १० रनमा अविजित रहे ।
घरेलु टोलीका लागि मिचेल स्टार्क र नेथन लायनले समान ३/३ तथा स्कट बोल्याण्ड र प्याट कमिंसले समान २/२ विकेट लिए ।
पहिलो ईनिङको ब्याटिङमा घरेलु टोलीले २ सय १८ रन मात्र जोड्न सक्यो । पहिलो ईनिङमा घरेलु टोलीले ६६ रनको अग्रता लियो ।
घरेलु टोलीका लागि ट्रेभिस हेडले ९२ रनको अर्धशतकीय ईनिङ खेले । स्टिभ स्मिथ ३६ रनमा आउट हँदा एलेक्स केरी २२ रनमा अविजित रहे । क्यामरन ग्रिन १८ तथा मिचेल स्टार्क १४ रनमा आउट भए । मार्नुस लाबुस्छाने र उस्मान ख्वाजाले ११/११ रन बनाए ।
पाहुना टोलीका लागि कागिसो रबडाले ४ तथा मार्को यानसनले ३ विकेट लिए ।
पहिलो ईनिङमा ६६ रनले पछि परेको पाहुना टोलीले दोस्रो ईनिङमा अलआउट हुँदा ९९ थप्यो ।
दक्षिण अफ्रिकाका लागि खाया झोन्डोले ३६ रन अविजित बनाउँदा टेम्बा बभुमाले २३ रन बनाए । केशब महाराज १६ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् ।
घरेलु टोलीका लागि कप्तान प्याट कमिंसले ५ तथा मिचेल स्टार्क र स्कट बोल्याण्डले समान २/२ विकेट लिए ।
दुई देश बिचको दोस्रो टेस्ट २६ डिसेम्बरबाट सुरु हुनेछ ।