काठमाडौं । पाहुना टोली भारतले बंगलादेशसँगको पहिलो टेस्ट जितेको छ । भारतले पहिलो टेस्टको अन्तिम दिनको पहिलो सेसनमा १ सय ८८ रनको फराकिलो जित हात पारेको हो ।
जितसँगै २ खेलको टेस्ट सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ ।
पाहुना टोलीले दिएको ५ सय १३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३ सय २४ रन मात्र बनाउन सक्यो । घरेलु टोलीका लागि जाकिर हुसेनले २ सय २४ बलमा १ सय रनको शतकीय ईनिङ खेले । डेब्यु टेस्टमा नै शतक बनाएका हुसेनले १३ चौका र १ छक्का प्रहार गरेका थिए ।
कप्तान शाकिब अल हसनले १ सय ८ बलमा ८४ रनको अर्धशतकीय योगदान गरे । ओपनर नजमल हुसेन शान्तोले ६७ रनको अर्धशतकीय ईनिङ खेले । मुस्फिकुर रहिम २३ तथा लिन्टन दास १९ रनमा आउट भएका थिए ।
भ्रमणकारी टोलीका लागि अक्षर पटेलले ४ तथा कुलदिप यादवले ३ विकेट लिए । मोहम्मद सिराज,उमेश यादव र रविचन्द्रन आश्विनको नाममा समान १/१ विकेट रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले पहिलो ईनिङमा ४ सय ४ रनमा सबै विकेट गुमाएको थियो । पाहुना टोलीका लागि चेतेश्वर पुजारा, श्रेयस अय्यर तथा रविचन्द्रन आश्विनले अर्धशतक बनाएका थिए । पुजाराले ९०, अय्यरले ८६ र आश्विनले ५८ रन बनाएका थिए ।
रिषभ पन्तले ४६ रन जोड्दा कुलदिप यादवले ४० रन जोडेका थिए । कप्तान केएल राहुल २२ रनमा आउट हँदा उमेश यादव २२ रनमा अविजित रहे ।
घरेलु टोलीका लागि तैजुल इस्लाम र मेहेदी हसन मिराजले समान ४/४ तथा खलिड अहमद र इबाडोट हुसेनले समान १/१ विकेट लिए ।
पहिलो ईनिङको ब्याटिङमा घरेलु टोलीले १ सय ५० रन मात्र जोड्न सक्यो । पहिलो ईनिङमा घरेलु टोली २ सय ५४ रनले पछि पर्यो ।
घरेलु टोलीका लागि मुस्फिकुर रहिमले २८ तथा मेहेदी हसन मिराजले २५ रन बनाए । लिन्टन दास २४ तथा जाकिर हुसेन २० मा आउट भए । इबाडोट हुसेनले १७ रन जोड्दा नुरुल हसनले १६ रन जोडे ।
भारतका लागि कुलदिप यादवले ५ तथा मोहम्मद सिराजले ३ विकेट लिए ।
पहिलो ईनिङमा २ सय ५४ रनको अग्रता लिएको पाहुना टोलीले दोस्रो ईनिङमा २ विकेट गुमाएर २ सय ५८ रन थप्दाँ ईनिङको समाप्ती गर्यो ।
भारतका लागि चेतेश्वर पुजारा र शुभमन गिलले शतकीय ईनिङ खेले । गिलले १ सय ५२ बलमा १ सय १० तथा पुजाराले १ सय ३० बलमा अविजित १ सय २ रनको योगदान गरे ।
कप्तान केएल राहुल २३ रनमा आउट हँदा विराट कोहलीले अविजित १९ रन बनाए ।
घरेलु टोलीका लागि खलिड अहमद र मेहेदी हसन मिराजले समान १/१ विकेट लिए ।
दुई देश बिचको दोस्रो तथा अन्तिम टेस्ट बिहिबारबाट सुरु हुनेछ ।