एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युनाइटेड साउथह्याम्पटनसंग २ - २ गोलको बराबरीमा रोकिएको हो ।
साउथह्याम्पटनको मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले बराबरी खेलेको हो । युनाइटेडको बराबरीमा रोमेलो लुकाकु र एण्डर हरेराले एक एक गोल गरे । त्यसअघि साउथह्याम्पटनका स्टुवार्ट आर्म्सट्रङ र सेड्रिच सोएर्सले एक एक गोल गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा २० मिनेटभित्रै युनाइटेड २ गोलले पछि परेको थियो । खेलको १३ औं मिनेटमा आर्म्सट्रङले गोल गर्दै घरेलु टोलीलाई १ - ० को अग्रता दिलाए । खेलको २० औं मिनेटमा सोएर्सले गोल गर्दै साउथह्याम्पटनलाई २ - ० को अग्रता दिलाए ।
तर, युनाइटेड पहिलो हाफमै खेलमा फर्कियो । खेलको ३३ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई २ - १ को स्थितिमा ल्याए । त्यसपछि खेलको ३९ औं मिनेटमा हरेराले गोल गर्दै खेल २ - २ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल २ - २ को बराबरीमा सकियो ।
यो बराबरीसंगै युनाइटेडले शीर्ष क्लबसंगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । युनाइटेडले १४ खेलबाट २२ अंक जोडेको छ । र, युनाइटेड सातौं स्थानमा छ ।
साउथह्याम्पटन रेलिगेसन जोनमा रहेको छ । पुछारबाट तेस्रो स्थानमा रहेको साउथह्याम्पटनले ९ अंक जोडेको छ ।