एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साबिकको विजेता तथा लिग लिडर युभेन्ट्सले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई ३ - ० गोल अन्तरले हराउँदै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो ।
फियोरेन्टिनाको मैदानमा युभेन्ट्सको सहज जितमा रोड्रिगो बेन्टानकर, जर्जियो चिलिनी र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
घरेलु टोलीविरुद्ध युभेन्ट्सले खेलको ३१ औं मिनेटमा बेन्टानकारको गोलबाट अग्रता बनाएको थियो । खेलको ६९ औं मिनेटमा चेलिनीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गरेका थिए । यस्तै रोनाल्डोले युभेन्ट्सका लागि पहिलो सिजनमै १४ खेलमा १० गोल पुरा गर्दै पुर्व स्टार चार्ल्सले बनाएको कीर्तिमानसंग बराबर गरेका छन् ।
तर, रोनाल्डोले पेनाल्टीमा गोल गरेलगत्तै एक पहेलो कार्डको सामना गरेका थिए । गोल गरेपछि बललाई हावामा प्रहार गरेको भन्दै रेफ्रीले रोनाल्डोलाई पहेलो कार्ड देखाएका थिए ।
जितसंगै युभेन्ट्सले लिगमा १३ औं जित निकालेको छ । र, युभेन्ट्सले १४ खेलबाट ४० अंक जोडेको छ । युभेन्ट्सले दोस्रो स्थानको नापोलीविरुद्ध ११ अंकको अग्रता समेत बनाएको छ ।
फियोरेन्टिना १८ अंक जोडेर दशौं स्थानमा छ ।