एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले अपराजित यात्रा कायम राखेको छ ।
साविकको विजेता समेत रहेको सिटीले अपराजित यात्रा कायम राख्ने क्रममा शनिबार बर्नेमाउथलाई ३ - १ गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा, रहिम स्टर्लिङ र इकेली गुन्डोगानले एक एक गोल गरे । बर्नेमाउथका कलुम विल्सनले एक गोल गरे ।
पहिलो हाफको १६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा बर्नेमाउथका विल्सनले गोल गरेपछि पहिलो हाफ १ - १ गोलको बराबरीमा सकियो ।
दोस्रो हाफमा सिटीले एकतर्फी खेल खेल्यो । खेलको ५७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई २ - १ को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ३ - १ को जित दिलाए ।
जितसंगै सिटीले १४ खेलबाट ३८ अंक जोडेको छ । र, अंक तालिकामा सिटीले दोस्रो स्थानको लिभरपुलविरुद्ध ५ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ३३ अंक छ । २० अंक जोडेको बर्नेमाउथ आठौं स्थानमा रहेको छ ।
लिग अन्तर्गत नै अन्य खेलमा वेष्ट ह्यामले न्युकासललाई २ - ०, लेष्टर सिटीले वाट्फोर्डलाई २ - ०, क्रिस्टल प्यालेसले बर्नलीलाई २ - ० र ब्राइटनले हडर्सफिल्डलाई २ - १ ले हराएको छ ।