नेपाली एथ्लेटिक्सका महान एवं कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धर र नेपाली खेलकुद दुवै एक–अर्काका परिपूरक हुन् । एक सिक्काका दुई पाटाजस्ता । ८० को दशकमा नेपाली खेलकुदको एथलेटिक्स छिरेका बैकुण्ठले लगभग २० वर्ष एक्लैले राज गरे ।
नेपाली खेलकुद इतिहासको पाना पल्टाउँदा म्याराथनका पूर्वकीर्तिमानधारी बैकुण्ठ कसैगरी छुट्दैछन् । उनको नाम आएन भने नेपाली खेलकुदको इतिहासै अपुरो हुन्छ ।
बैकुण्ठ यस्ता खेलाडी हुन्, जसको परिचय र कीर्तिमानको व्याख्या कसैले गरिरहन पर्दैन । उनको चर्चा नेपालमा मात्रै होइन, दक्षिण एसियाली राष्ट्रमा समेत ‘लिजेन्ड’का रूपमा आउँछ ।
नेपालको राष्ट्रिय झन्डा बोकेर ४ पटक ओलम्पिक ट्र्याकमा दौडिएका बैकुण्ठले सन् १९८७ मा राखेको राष्ट्रिय कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । २९ वर्षअघिको त्यो कीर्तिमान नेपालमा मात्रै होइन, दक्षिण एसियाली देशका खेलाडीले समेत तोड्न सकेका छैनन् ।
तर, आफ्नो रेकर्ड कसैले ब्रेक नगर्दा उनलाई खुसी भने लाग्दैन । “मैले रेकर्ड बनाएको धेरै भइसक्यो, अहिलेसम्म नतोडिँदा मलाई दुःख लागेको छ,” उनले एक साँझ भने, “त्यो समय र अहिले एथ्लेटिक्समा निकै परिवर्तन आएको छ । म चाहन्छु मेरो रेकर्ड ब्रेक होस् । प्रत्येक वर्ष नयाँ–नयाँ खेलाडीले रेकर्ड बनाऊन् । तर, हामीले २९ वर्ष पुरानो रेकर्डमा गर्व गर्नुपर्ने अवस्था दुःखद हो ।”
सन् १९८७ नोभेम्बरमा भारत कोलकातामा सम्पन्न दक्षिण एसियाली खेलकुद (साफ)को तेस्रो संस्करणमा बैकुण्ठले बनाएको २ः१५ घण्टाको रेकर्ड अहिलेसम्म तोडिएको छैन । गत वर्ष माघ र फागुनमा भारतमै आयोजित १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा समेत उनको रेकर्ड तोडिएन ।
बैकुण्ठ सागमा लगातार तीन स्वर्ण जित्ने पहिलो खेलाडीसमेत हुन् । उनले जितेका तीनै स्वर्णका फरक–फरक इतिहास र फरक–फरक कथा छन् ।
सन् १९८३ मा काठमाडांैमा सम्पन्न पहिलो साफमा स्वर्ण जित्दै नेपाललाई पहिलो स्वर्ण पदक दिलाउने खेलाडी बने । दुई वर्षपछि सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो साफमा पनि उनले स्वर्ण जिते । त्यो सागमा नेपाललाई एकमात्र स्वर्ण बैकुण्ठले नै दिलाएका थिए । त्यसपछि सन् १९८७ मा कोलकातामा सम्पन्न तेस्रो साफमा उनले कीर्तिमानी स्वर्णमा ह्याट्रिक गरे । उनले नयाँ समयको कीर्तिमानसहित स्वर्ण जिते । तोडिनै नसकेको कीर्तिमान यही हो ।
त्यसबाहेक विश्व खेलकुदको कुम्भ मेला ओलम्पिकमा उनले लगातार चारपटक (सन् १९७६ मोन्ट्रियल, १९८० मस्को, १९८४ लसएन्जलस र १९८८ सउल)मा सहभागिता जनाए । धेरैपटक ओलम्पिकमा भाग लिने एक्लो नेपाली खेलाडीको कीर्तिमान पनि हो यो ।
वि.सं. २००९ कात्तिक चतुर्दशी पूर्णिमाका दिन कालीमाटीमा जन्मिएका बैकुण्ठ त्यत्तिकै बैकुण्ठ मानन्धर भएका होइनन् । उनले गरेको मेहेनत, खेलप्रतिको भीष्मप्रतिज्ञा, लगावको कथा लामो छ । मनमा जसरी पनि धावक बन्ने अठोट थियो । भोलि के पाइएला वा नपाइएला भनेर कहिल्यै सोचेनन् । लगातार मेहनत गर्दै गए । दौडिँदै गएँ । सफलता पाउँदै गए ।
त्यसबेला बैकुण्ठले दैनिक दुई पटक अभ्यास गर्थे । बिहान ५ बजेपछि लगातार २–३ घण्टा अभ्यासमा जोतिन्थे । त्यसपछि दिउँसो २ बजे रंगशाला पुग्थे । अनि फेरि अभ्यासमा जुट्थे । त्यसकै फल हो– खेल छाडेको वर्षौंसम्म पनि उनलाई सम्मान गर्नेहरु बग्रेल्ती छन् । उनकै शब्दमा भन्ने हो भने अहिले लगानीको ब्याज पाकिरहेको छ ।
“मजस्ता खेलाडी यहाँ धेरै छन् तर मजति सम्मान कुनै खेलाडीले पाएका छैनन्,” उनी भन्छन्, “मानौं मैले लगानी गरेको थिएँ, अहिले ब्याज खाइरहेको छु । त्योभन्दा ठूलो कुरा मेरो लागि अरु केही छैन । त्यतिबेला राजा वीरेन्द्रको हौसलाले पनि मलाई बैकुण्ठ बनाएको हो ।”
एथ्लेटिक्समा वर्षांै लगानी र मेहनत गरेपछि मात्रै नतिजा देखिने भएकाले कीर्तिमान बनाउन दसौं वर्ष लाग्न सक्छ । दुई–चार वर्ष दौडनासाथ ‘अब भएन’ भनेर अर्को विकल्प खोज्न नहुने सुझाव उनी दिन्छन् ।
बैकुण्ठले पाएका सम्मान पत्रको चाङ लगाउने हो भने एक ट्रक पुग्छ । यसलाई उनी मेहनतबाट प्राप्त फलको विम्ब मान्छन् । “मैले राजादेखि हरेक नेपालीबाट सम्मान पाएको छु । घरमा सम्मान, कदरपत्रहरु हेरेर कहिलेकाहीँ टोलाउने गर्छु,” भन्छन्, “साँच्चिकै मैले देशका लागि केही गरेछु ।”
मानन्धरले गोर्खा दक्षिणबाहुदेखि लिएर अनगिन्ती पुरस्कार पाएका छन् । यसमा राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्मका पर्छन् ।
खेलकुद सुरुवात
मध्यम परिवारमा जन्मिएका बैकुण्ठले सानै उमेरमा खेलप्रति रुचि राखे तर उनलाई खेलाडी बन्छु भन्ने लागेकै थिएन । तर, मरुहिटीस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा पढ्दा–पढ्दै उनी एथलेटिक्स खेलमा लागे ।
“मलाई यस्तो खेलाडी बनुँला भन्ने पटक्कै थिएन तर स्कुलमा हुने दौड प्रतियोगितामा भाग लिँदालिँदै एथलेटिक्समा लागें,” उनले सम्झिए, “२०२५ सालमा अन्तरस्कुल प्रतियोगितामा पहिलो भएपछि मलाई झनै प्रेरणा मिल्यो ।” पछि उनले त्यही विद्यालयबाट २०२६ सालमा एसएलसी उत्तीर्ण गरे ।
सुरुमा उनलाई दौडमा लाग्न परिवारको साथ पटक्कै थिएन । परिवारले थाहा पाउने डरले भागीभागी, लुकीलुकी दौड प्रतियोगिताहरुमा भाग लिए ।
“बुबाआमाले पटक्कै स्वीकार्नु भएन । खेलाडी बनाउनु भनेको छोराछोरी बिगार्नु हो भन्ने बुझाइ थियो । त्यतिबेला टोल छिमेकमा खेलाडीको बाआमा भनेर गर्व गर्न सक्ने अवस्था पनि थिएन । तर बाआमा खुसी भएनन् भनेर मैले दौडनचाहिँ छोडिनँ,” उनले भने ।
०२५ मा टुडिखेलमा आयोजित अन्तरस्कुल एथलेटिक्स प्रतियोगितामा पहिलो भएपछि प्रशिक्षकहरु लक्ष्मण् विक्रम शाह र मधु शमशेर राणाबाट उनले प्रशिक्षण लिने मौका पाए । लगत्तै २०२७ सालमा उनी राष्ट्रिय च्याम्पियन बने । भोलिपल्टै गोरखापत्रमा फोटोसहितको समाचार छापिएको देखेपछि बा–आमा खुसी भएर आफूलाई समर्थन गरेको उनलाई अहिलेजस्तै लाग्छ ।
उनी सम्झन्छन्, “त्यसबेलासम्म दौडेर केही हुन्न भन्ने बा–आमा पत्रिकामा नाम आउँदा त दंग, त्यसपछि त म खुलेरै दौडमा लागें ।”
घरबाट खेल्न अनुमति पाएपछि बैकुण्ठले नेपालको एथलेटिक्समा एकछत्र राज गरे । १९८९ मा पाकिस्तानको चौथो सागमा तेस्रो भएपछि भने उनले राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएनन् । “त्यहाँ २ः२१ः०२ घण्टामा दौड पूरा गरें तर मैले तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । त्यसपछि मलाई खेल्न गाह्रो भयो । मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न छाडें ।”
बाल्यकाल दौडेरै बित्यो
आठ दाजुभाइमा माइला बैकुण्ठको बाल्यकाल पनि दौडेरै बित्यो । घरमा चियापसल भएकाले चिनी, चियापत्ती किन्न जाँदा पनि उनी धेरै दौडिए । त्यसमाथि आठ दाजुभाइमध्ये सबैभन्दा बलियो भएकाले घरको काममा पनि निकै दौडिए ।
घरमा चिया पसल थियो । बा–आमाले रोटी, चिया बेच्थे । त्यतिबेला कालिमाटीमा उनीहरुको मात्र पसल थियो । चियाका लागि चिनी किनिरहनु पर्ने । उनी चिनी लिनै दौडेर हनुमानढोका पुग्थे । कतिपटक ताप्केमा पानी राखेर उनी दौडिँदै चियापत्ती लिन बसन्तपुर जान्थे । कहिलेकाहीँ त उनी पसल आइपुग्दा पानीसमेत तातिएको हुँदैनथ्यो ।
पहिलो अन्तर्राष्ट्रिय अनुभव
बैकुण्ठले पहिलोपटक ०३० मा विदेश जाने मौका पाए । त्यसपछि उनको विदेश पानीपँधेरो जस्तै भयो ।
“राष्ट्रिय च्याम्पियन बनेपछि ०३० सालमा पहिलो पटक विदेश जान पाँए । मेरो लागि ठूलो कुरा थियो,” उनले सम्झिए, “म अंग्रेजीमा राम्रो । खेलमा पनि राम्रो गर्दै थिएँ । त्यसैले फिलिपिन्स जाने मौका पाएँ । हामीले त्यहाँ गन्जी र पाँच रुपैयाँ पर्ने टेन्ट जुत्ता लगाएर दौडिएका थियौं ।”
फिलिपिन्सको पहिलो ‘एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिप’मा सहभागी हुन नेपालबाट चार खेलाडी गएका थिए । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । जितबहादुर केसी त त्यहाँ खाली खुट्टा दौडिएका थिए । नेपाली खेलाडीमध्ये जितबहादुर सबैभन्दा राम्रा थिए । जितबहादुर त्यहाँ तेस्रो भए भने बैकुण्ठ पाँचौं । बैकुण्ठले जितका लागि अनेकौं रणनीति अपनाए, जसलाई उनी यसरी सम्झन्छन् ः
“मैले सधैं जितबहादुरभन्दा म राम्रो भन्थें । मैले जितबहादुरलाई र दौड जित्न अनेकौं प्रयास गरें, त्यहाँ विभिन्न देशका धावक थिए । मभन्दा जितबहादुरको पर्फमेन्स राम्रो थियो । त्यसैले मैले एउटा उपाय अपनाएँ । पिलिपिन्सको १२ बजेको गर्मीमा दौडनुपर्ने थियो । सुरुमा धेरै दौडेर सबैलाई गर्मीमा पछि बनाउने सोचें । दौड सुरु भयो । सुरुका १० मिनट बेपत्तासँग दौडिएँ । १०–१२ किलोमिटर दौडिएपछि हेर्दा ट्र्याकमा कोही खेलाडी पनि देखिएनन् । पछि जितबहादुरले मलाई भेट्टाए । त्यसपछि को–को आउँदै छन् भनेर सोधें । जितबहादुरको कुरा सुनेर थाहा पाएँ–प्रायः सबै दौड छाडेर गइसकेछन् । म बेपत्ता दौडिएको देखेर सबैले हरेश खाएछन् । तर, अन्तिममा जापानीहरुले दौड जिते, जितबहादुर तेस्रो भए । जितबहादुरले जितेको त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।”
घरायसी समस्याले गाँजेपछि बैकुण्ठले ०३५–३६ सालतिर खेल छाड्ने सोचेका पनि थिए । उनकी आमा बिरामी थिइन् । त्यत्ति नै बेला सेनाले उनलाई जागिर दिएर टेको दियो । त्यसपछि उनले केही समय खेल छाडे, ०३८ सालमा राष्ट्रिय खेल खेल्न पाएनन् । उनी छनोट खेलमै सहभागी भएनन् । त्यसपछि उनले एक्लै ट्रायल दिएर भए पनि खेल्न दिन अनुरोध गरे तर पाएनन् । बरु पाकिस्तानमा खेल्न पाए र गए । अभ्यासबिनै दौडिँदा हार्ने र हारेपछि ओलम्पिक÷सागमा खेल्न नपाउने भनेर उनलाई अन्तर्राष्ट्रिय खेल खेल्न पाकिस्तान पठाइएको थियो । पाकिस्तानमा १० हजार मिटरको दौडमा उनी दोस्रो भए ।
ओलम्पिक यात्रा
लगातार ४ पटक ओलम्पिकमा प्रतिनिधित्व गर्ने नेपालको एक्लो खेलाडी बैकुण्ठको ओलम्पिक यात्रा पनि निकै रोमान्चक छ । त्यसमध्ये पहिलो सन् १९७६ (मोन्ट्रियल–क्यानडा) को ओलम्पिक उनलाई धेरै सम्झना आउँछ ।
“पहिलो पटक ओलम्पिक खेल्दा मैले गन्जी लगाएर दौडिएँ,” उनले स्मरण गर्दै भने, “त्यो ओलम्पिकमा मैले गन्जीमा साइनपेनले नेपाल लेखेको थिएँ । सँगै गएका अर्का खेलाडी अशोक श्रेष्ठले गन्जीमा नेपाल लेखिदिएका थिए । त्यसबेला २ः३०ः०७ घण्टामा दौड पूरा गर्दै म ५० औं स्थानमा आएँ ।”
तर, बैकुण्ठलाई क्यानडाको ओलम्पिक खेलमा जानुअघिको अमेरिका यात्रा झनै स्मरणीय छ । क्यानडा जानुअघि ३ महिने अभ्यासका लागि अमेरिका जानुपर्ने थियो । उनलाई अमेरिका पठाइयो । काठमाडौंबाट दिल्ली गए तर दिल्लीमा उनको पार्सपोर्टबाहेक अरु केही थिएन । दिल्ली पुगेपछि बल्ल थाहा भयो– अमेरिका जान भिसा चाहिने रहेछ । आफू ओलम्पिक खेल्न जान लागेको खेलाडी भएको बताएपछि उनी दिल्लीबाट अमेरिका जान पाए ।
अमेरिका पुगेपछि बल्ल उनलाई गाह्रो भयो । पहिलो कुरा त भिसाबिनै गएकोमा विमानस्थलमै रोकिए । उनीसँग कुनै चिठी थिएन । राष्ट्रिय खेलकुद परिषद्लाई नेपाल घुम्न आएका अमेरिकीको मौखिक आश्वासनको भरमा उनलाई त्यहाँ पठाइएको रहेछ । अमेरिकाको विमानस्थलमा अलपत्र परेपछि त्यहाँका केही स्थानीय टेलिभिजनहरुले समाचार बनाए । त्यसपछि मात्रै उनलाई भेट्न नेपाली राजदूत आए । अनि बल्ल ती व्यक्ति सामुन्ने आए, जसले नेपाल जाँदा सहयोग गर्छु भनेका थिए । उनी त्यतिबेला साथी उदय श्रेष्ठको रातो कोट मागेर ओलम्पिक खेल्न गएका थिए । उनीसँग एकजोर दौरा सुरुवाल, गन्जी र लगाइराखेको पाइन्टमात्र थियो । उनले कर्नल युनिभर्सिटीमा तीन महिना अभ्यास गरे । र, त्यहीँबाट ओलम्पिक खेल्न क्यानडा गए ।
पैसालाई महत्व दिँदा खेल पछाडि प¥यो
आफ्नो रेकर्ड ब्रेक नहुनुमा खेलाडीहरुको मेहनतलाई नै दोष दिन्छन् बैकुण्ठ । खेलाडीले खेलभन्दा पैसालाई महत्व दिँदा उनको मन पोल्छ ।
“हामीले त्यो बेला दौडेर कसरी राम्रो गर्ने भन्ने भावना राख्थ्यौं, आफ्नो खेललाई सुधार गर्न के–के गर्नुपर्छ भन्ने सोच्थ्यौं । तर, अहिलेका खेलाडीहरु दौडेर पैसा कमाउने सोच राख्छन्, अनि कसरी प्रगति हुन्छ ?” उनले भने, “यहाँ पैसाबिना कोही पनि दौडिँदैन । पैसाबिना कुनै प्रतियोगिता भए कुनै खेलाडी दौडिँदैनन्, ठोकुवा गरेर भन्छु । नयाँ खेलाडीले कसरी बैकुण्ठ मानन्धरको रेकर्ड ब्रेक गर्ने भनेर कहिल्यै सोचेनन् ।”
आफ्नो पालामा खुराक गतिलो नभए पनि दौडिनुपथ्र्यो, जुत्ता नभए पनि उफ्रिएर कुदुनुपथ्र्यो । अहिले सुविधा अनेकन् छन्, वैज्ञानिक सिकाइ छ र पनि कसैले उनको रेकर्ड तोड्न सकेनन् । उनलाई यही कुरामा दुःख लाग्छ ।
नयाँ खेलाडीले आफ्नो सुझाव नमान्दा उनलाई चित्त दुख्छ । भन्छन्, “नयाँ खेलाडीले हाम्रो सुझाव लिन नचाहँदा बेकारमै सुझाएछु जस्तो लाग्छ । आजकलका युवा खेलाडीहरु हामीलाई आउटडेटेड सम्झन्छन् ।”
बाँकी जीवन
कीर्तिमानी धावक बैकुण्ठको दैनिकी पहिलेभन्दा कम छैन । बिहानै उठेर रंगशाला आउने र आफ्नै उमेरका धावकसँग दौडिने गर्छन् । भन्छन्, “अचेल भेट्रानलाई सुझाव दिन्छु । नयाँ खेलाडीलाई हौसला दिन्छु । लागेको बानी छाड्न सकिएन, सधैं दौडिन्छु । आफ्नो स्वास्थ्यका लागि भए पनि यो जरुरी छ ।”