एजेन्सी । फ्रान्सका मिडफिल्डर ब्लेस माटुइडीले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो बालोन डी'ओर अवार्डका हकदार रहेको बताएका छन् ।
इटालियन क्लब युभेन्ट्सका प्ले मेकर माटुइडीले स्काई स्पोर्ट्ससंग कुरा गर्दै यस पटकको बालोन डी'ओर अवार्डका लागि रोनाल्डो योग्य रहेको बताएका हुन् ।
रोनाल्डो र माटुइडी टिम मेट समेत हुन् । रोनाल्डो स्पेनिस क्लब रियलबाट युभेन्ट्स आएका थिए ।
'रोनाल्डो बालोन डी'ओरका हकदार हुन,' माटुइडीले भने, 'उहाँ सधै जित्न चाहन्छन् । त्यसले उहाँ फरक छन् ।'
३३ बर्षीय रोनाल्डो बालोन डी'ओरको मुख्य प्रतिस्पर्धी हुन् । गत सिजन रियललाई चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले मुख्य भूमिका खेलेका थिए ।
रोनाल्डोले पाँच पटक यस अवार्ड जितिसकेका छन् । यस पटक अवार्ड जिते रोनाल्डो सर्वाधिक पटक बालोन डी'ओर जित्ने खेलाडी बन्नेछन् । पछिल्लो १० बर्षमा रोनाल्डो र लियोनल मेस्सीले मात्र यो उपाधि जित्दै आएका छन् ।
यस सिजन पनि रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रोनाल्डो च्याम्पियन्स लिगमा १०० खेल जित्ने पहिलो खेलाडी समेत हुन् ।
माटुइडीले रोनाल्डोले च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेको कारण पनि बालोन डी'ओर जित्ने विश्वास रहेको बताए । यस्तै माटुइडीले यस सिजन युभेन्ट्सले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको दाबी गरे ।
यस सिजनको बालोन डी'ओर अवार्डको घोषणा आगामी डिसेम्बर ३ मा हुँदैछ ।