काठमाडौं । भारतीय टोली ध्रुव क्रिकेट एकेडेमी(डीसीए)ले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको आफ्नो दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा आयोजक टोली प्रदेश-१ लाई ८ विकेटले हराएको हो ।
प्रदेश१ ले दिएको ८९ रनको लक्ष्य डीसीएले १३.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
डीसीएका लागि शौर्य सिंहले ३७ बलमा ४४ तथा अर्जुन भारद्वाजले ३५ बलमा ३२ रन जोडे । कप्तान अंश यादव ९ रनमा अविजित रहे ।
प्रदेश-१ का लागि कमल खत्री र शुभाकंर उराउले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो । प्रदेश-१ का लागि विवेक मेहताले २३ रन बनाउँदा कप्तान सिद्धान्त लोहनीले २१ रन बनाएका थिए । श्रवन यादव १४ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
डीसीएका लागि सुजन तिवारीले ३ तथा पंकज यादव र सौर्य सिंहले समान २/२ विकेट लिए ।
दोस्रो खेलमा पहिलो जित हात पारेको डीसीए २ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
तेस्रो खेलमा दोस्रो हार व्यहारेको प्रदेश-१ भने २ अंकका साथ चौथो स्थानमा रहेको छ ।