एजेन्सी । युईएफए युरोपा लिग फुटबलमा इंग्लिश क्लब आर्सनलले सहज जित निकालेको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा आर्सनलले युक्रेनी क्लब भोर्स्क्ला पोल्ताभालाई ३ - ० ले हराएको हो ।
आर्सनलले पोल्ताभालाई उसैको मैदानमा हार चखाएको हो । आर्सनललाई जित दिलाउन इम्ली स्मिथ, आरोन रामसे र जोसेफ विलोकले समान एक एक गोल गरे ।
आर्सनलले घरेलु टोलीविरुद्ध तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको ११ औं मिनेटमा स्मिथले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । २७ औं मिनेटमा रामसेले पेनाल्टीमा गोल गर्दै आर्सनलको अग्रता २ - ० को बनाए । त्यसपछि खेलको ४१ औं मिनेटमा जोसेफले गोल गर्दा पहिलो हाफमा आर्सनल ३ - ० ले अघि रह्यो ।
दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कन सकेन र खेल आर्सनललाई ३ - ० ले सुम्पियो ।
जितसंगै समूह 'ई' को आर्सनलले ५ खेलबाट १३ अंक जोडेको छ । र, आर्सनलले शीर्ष स्थान यथावत राखेको छ । आर्सनलले यसअघि नै नकआउट चरणमा स्थान बनाईसकेको छ ।
यस समूहमा स्पोर्टिङ सिपि दोस्रो स्थानमा छ । स्पोर्टिङले बिहिबार राति क्वाराबाकलाई ६ - १ ले हराएको थियो ।
स्पोर्टिङको १० अंक रहेको छ । क्वाराबाक र पोल्ताभाको ३/३ अंक छ ।