एजेन्सी । इंग्लिश क्लब चेल्सीले युईएफए युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा चेल्सीले ग्रिस क्लब पीएओके सालोनिकालाई ४ - ० ले हराएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित सालोनिकालाई पराजित गर्न चेल्सीका लागि ओलिभर जिरुडले २ गोल गरे । यस्तै क्यालम हड्सन र अल्भारो मोराटाले एक एक गोल गरे ।
स्टामफोर्ड ब्रिजमा सालोनिका सातौं मिनेटमै १० खेलाडीमा समेटिएको थियो । सालोनिका यव्हेन खाचेरिडीले रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा चेल्सीले बनायो ।
खेलको २७ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ३७ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २ - ० को बनाए ।
दोस्रो हाफमा पनि चेल्सीले गोल गर्ने क्रमलाई निरन्तरता दियो । खेलको ६० औं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीको अग्रता ३ - ० को बनाए । त्यसपछि खेलको ८० औं मिनेटमा मोराटाले गोल गर्दै चेल्सीलाई ४ - ० को जित दिलाए ।
योसंगै चेल्सीले लगातार पाँचौ जित हो । र, चेल्सी युरोपा लिगमा लगातार पाँच जित निकाल्ने दोस्रो क्लब बनेको छ । यसअघि सन् २०१३/१४ को सिजन टोटेनहमले निकालेको थियो ।
जितसंगै समूह 'एल' को चेल्सीले १५ अंक जोडेर समूहको शीर्ष स्थानमा यथावत राखेको छ । चेल्सी २ खेल अगावै नकआउट चरणमा पुगिसकेको छ । सालोनिका ३ अंक जोडेर पुछारमा छ ।