काठमाडौं । नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम साताबाट आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुने जनाएको छ । खेलहरु विराटनगरस्थित शहिद रंगशालामा हुनेछ ।
एन्फाले ओमानको मस्कटमा भएको साफ राष्ट्रको भेलाले मिति तय गरेको जनाएको छ ।
महिला साफमा नेपालसहित, भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यसअघि महिला साफ श्रीलंकामा हुने तय भएको भएपनि श्रीलंकाले अन्तिम समयमा हात झिकेको थियो ।
साफ च्याम्पियनसिपका लागि नेपाली महिला टिमले तयारी सुरु गरिसकेको छ । साफलाई मध्यनजर गर्दै नेपालले गत महिला चीनमा मैत्रीपूर्ण खेल र अभ्यास गरेको थियो । यस्तै नेपालले ओलम्पिक छनोट खेल्दै दोस्रो चरणको यात्रा समेत तय गरिसकेको छ ।
i