काठमाडौं । ललितपुर प्याट्रियट्सका मालिक किशोर श्रेष्ठले आफ्नो टोलीले एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको उपाधि जित्ने दाबी गरेको छ । बुधबार राति खेलाडी र प्रायोजकको घोषणा गर्दै क्लबका मालिक श्रेष्ठले विगतमा भन्दा खेलाडीमा राम्रो लगानी गरेको उल्लेख गर्दै उपाधि जित्न आफ्नो टिम सक्षम रहेको बताए ।
घरेलु क्रिकेटमा चम्किएका सन्नि पटेल र जयकिशन खोस्सावालको उदाहरण दिदै श्रेष्ठले राम्रो टिम बनाउन खेलाडीमा तीन गुणा बढी खर्च गरिएको बताए ।
केही साता अघि पोखरामा सम्पन्न पहिलो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटमा उनै शोस्सावाला चम्किएपछि पोखरा पल्टनले उपाधि उचालेको थियो । सन्नि पटेलको अलराउण्ड प्रर्दशनमा चितवन राईनोजले फाईनल यात्रा तय गरेको थियो । उनै पटेलले फाईनल खेलमा समेत चितवनबाट उत्कृष्ट व्याटिङ प्रर्दशन गरेका थिए ।
अघिल्लो संस्करणको प्रतियोगितामा ललितपुर तेस्रो भएको थियो ।
‘अगाडीको संस्करण भन्दा यसपटक टोलीमा धेरै लगानी बढेको छ । खेलाडीमा मात्र ३५ देखि ४० लाख खर्चेका छौ ।’ मालिक श्रेष्ठले पत्रकार सम्मेलनमा भने ।
कार्यक्रममा उनले टोलीका मुख्य बलर सन्दिप लामिछानेले सुरुवाती दुई खेलमात्र खेल्ने जानकारी गराए ।
त्यस लगत्तै सन्दिप बिग बास खेल्न अष्ट्रेलिया जानेछन् । क्लबको मुख्य प्रायोजकमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ ।
ज्ञानेन्द्र मल्ल कप्तान रहेको टोलीको मुख्य प्रशिक्षकमा राजु बस्न्यात छन् ।