एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । डच क्लब पीएसभीलाई पराजित गर्दै बार्सिलोनाले समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले डच क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो । बार्सिलोनाको जितमा लियोनल मेस्सी र जेरार्ड पिकेले गोल गरे । पीएसभीका लुक डी जोङले एक गोल फर्काए ।
खेलको ६१ औं मिनेटमा बार्सिलोनाले मेस्सीको गोलबाट अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि जेरार्डले गोल गर्दै बार्सिलोनाको अग्रतालाई दोब्बर पारे । खेल सकिन ८ मिनेट बाँकी छदाँ जोङले घरेलु टोलीका लागि एक गोल फर्काए ।
जितसंगै समूह बी को शीर्ष स्थानको बार्सिलोनाले ५ खेलबाट १३ अंक जोड्यो । र, बार्सिलोना समूह विजेता बन्ने पक्का भयो । पुछारको पीएसभी १ अंक जोडेर एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
यसै समूहको अर्को खेलमा इन्ग्लिश प्रिमियर लिग क्लब टोटेनहमले ईटालियन क्लब ईन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
टोटेनहमको जितमा क्रिस्टियन ईरिक्सनले ८० औं मिनेटमा गोल गरे । जितसंगै समूहको दोस्रो स्थानमा उक्लिएको टोटेनहमले नकआउट चरणको सम्भावना जिवित राखेछ ।
टोटेनहमको ५ खेलबाट ७ अंक छ । इन्टरको पनि ५ खेलबाट ७ अंक नै छ । इन्टरको पनि नकआउट चरण सम्भावना जीवितै रहेको छ ।