काठमाडौ । सशत्र प्रहरीको एपीएफ क्लबले प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार भएको फाइनलमा आयोजक त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४ - २ ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
भद्रकालीस्थित जंगी अड्डाको खेल मैदानमा निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटको समय १ - १ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा एपीएफले बाजी मार्यो ।
पेनाल्टीमा एपीएफका साबित्रा भण्डारी, रेनुका नगरकोटी, अनु लामा र अनिता बस्नेतले गोल गरिन् । गिता रानाले पेनाल्टीमा गोल गर्न सकिनन् ।
यस्तै आर्मीका अन्जना राना मगर र निशा बोहराले गोल गरिन् । तर, कृष्णा खत्री, अन्जली सुब्बा र इन्दिरा राईले गोल गर्न नसक्दा आर्मी उपाधिबाट बन्चित भएको हो ।
यसअघि खेलमा सुरुवाती अग्रता एपीएफले नै बनाएको थियो । खेलको १९ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
तर, दोस्रो हाफमा आर्मी खेलमा फर्कदै बराबरी गर्न सफल भयो । खेलको ६३ औं मिनेटमा बिमला चौधरीले गोल गरेपछि आर्मीले खेल १ - १ को बराबरी बनाएको थियो ।
उपाधिसंगै एपीएफले ३ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो । सेमिफाइनलमा पुगेका पुलिस र प्रदेश नम्बर २ ले ५०–५० हजार पुरस्कार पाएका छन् ।
प्रतियोगितामा आर्मीकी पुनम जर्गा मगर सर्वोकृष्ट खेलाडी घोषित भईन् । उनले एक थान स्कुटर प्राप्त गरिन् ।
यस्तै उत्कृष्ट फरवार्ड एपीएफकी साबित्रा भण्डारी, मिडफिल्डरमा आर्मीकी बिमला चौधरी, डिफेन्डरमा आर्मीकी सुमित्र चौधरी, गोलकिपरमा एपीएफकी एन्जिला सुब्बा र उत्कृष्ट प्रशिक्षक एपीएफका जनक सिंह घोषित भए । उत्कृष्ट हुनेले समान ५-५ हजार प्राप्त गरे ।
यसअघि सेमिफाइनलमा एपीएफले पुलिसलाई ३–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यस्तै आर्मीले प्रदेश नम्बर २ लाई ४–० ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो ।