रोशन केसी
काठमाडौं । विश्व फुटबलमा एउटा प्रश्न छ, आधुनिक फुटबलका सर्वकालिन उत्कृष्ट खेलाडी को हुन् ? प्रश्नसंगै जोडिएर आउने दुई नाम हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो ।
क्लब फुटबलमा सर्वाधिक सफल यि दुई खेलाडीको प्रर्दशनको पर्खाइ रुसी विश्वकपमा समेत प्रतिक्षाको बिषय थियो ।
सोही कारण आम खेलकुद प्रेमीले यि दुई खेलाडीलाई पछ्याईरहेका थिए । तर, विश्वकपमा दोस्रो चरणको खेल जारी रहदाँ रोनाल्डो चम्किएका छन् । युरो कप जिताएका रोनाल्डोले पोर्चुगललाई विश्वकपको नकआउट चरण नजिक पुर्राएका छन् । पहिलो खेलमै स्पेनविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले विश्वको ध्यान आफुतिर केन्द्रित गरेका छन् ।
तर, मेस्सीको प्रर्दशनसंगै कमजोर देखिएको अर्जेन्टिनाको विश्वकप सुरुवात सुखद रहेन । पहिलो खेलमै उसले विश्वकपमा डेब्यु गरेको आइसल्याण्डसंग १–१ गोलको बराबरी खेलेको थियो । अझ मेस्सीले पेनाल्टी मिस गरेपछि उनको तीव्र आलोचना भईरहेको छ ।
ह्याट्रिकसंगै मोरक्कोविरुद्ध गोल गरेका रोनाल्डो गोल्डेन बुटको दाबेदार बनेर अगाडी आएका छन् । नकआउट चरण पुग्न अर्जेन्टिनाको यात्रा अब कठिन छ । जसका लागि उसले सबै बल प्रयोग गर्नुपर्नेछ । त्यसका लागि आवश्यक छ मेस्सीको म्याजिक अर्थात जादु ।
विश्व फुटबलको लोकप्रिय देश अर्जेन्टिनाको लाज र विश्व आधुनिक फुटबलकै सर्वाधिक सफल खेलाडीको ताज जोगाउन मेस्सी पुरानै गतिमा फर्कन आवश्यक छ । अर्जेन्टिना आज समुह चरणको खेलमा बलियो प्रत्यासी क्रोयसियासंग प्रतिस्पर्धा गर्दैछ ।
नाईजेरियालाई पहिलो खेलमा २–० ले हराएको क्रोयसियाले आफुलाई समुहको बलियो र दाबेदार टोलीको रुपमा संकेत गरिसकेको छ । मेस्सीको अर्जेन्टिनालाई आजको खेलमा जित निकाल्न सोही कारण समस्या छ । क्रोयसियालाई बराबरीले समेत अर्को चरण प्रवेशको सम्भावना रहन्छ ।
अर्जेन्टिनाले लुका मोर्डिक, इभान राकिटिक, डेजान लोब्ब्रेन, मारियो मान्डुज्कीको लयमा रहेको टोली क्रोसियालाई पराजित गर्नुुपर्ने छ । तर क्रोसियाको पछिल्ला समय लयमा रहेकाले कुनै पनि समय प्रतिद्धन्दीलाई समस्या पार्न सक्छ ।
अर्जेन्टिनी टिममा लियोनल मेस्सीसंगै सर्जियो अग्युरो, एन्जल डि मारिया, गोन्जालो हेगुइन लगायतका खेलाडी समेत चम्किन आवश्यक छ । पहिलो खेलमा गरेकोलाई सुधार गर्दै अर्जेन्टिनाले खेलको सुरुवातमै आक्रमक खेल्न आवश्यक छ । उसले अर्को युवा स्टार पाउलो डिबालालाई समेत मौका दिन आवश्यक देखिन्छ ।
यता क्रोयसियाले मेस्सीलाई कडा निगरानीमा राख्नुको विकल्प छैन । बराबरी नतिजाले समेत नकआउट चरण प्रवेशको सम्भावना बलियो हुने भएकाले बलियो प्रत्यासी अर्जेन्टिनासंग क्रोयसियाले डिफेन्सिभ खेल्दै पाएको मौका सदुपयोग गर्न आवश्यक छ ।