एजेन्सी । रोबर्टो लेवान्डोस्कीले च्याम्पियन्स लिगमा ५० गोल पुरा गरेको खेलमा वायर्न म्युनिखले फराकिलो जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्न मंगलबार राति भएको खेलमा जर्मन च्याम्पियन वायर्नले पोर्चुगिज बेन्फिकालाई ५ - १ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन आर्जेन रोबेन र रोबर्टो लेवान्डोस्कीले २/२ गोल गरे । फ्रान्क रिबेरीको नाममा एक गोल रह्यो । बेन्फिकाका गेड्सन फर्नान्डेजले एक गोल फर्काए ।
बेन्फिकाविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा वायर्नले खेलको १३ औं मिनेटमा रोबेनको गोलबाट अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा रोबेनले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई २ - ० को अग्रता दिलाए ।
त्यसपछि खेलको ३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पहिलो हाफमा वायर्नलाई ३ - ० को अग्रता दिलाए । यो गोलसंगै लेवान्डोस्कीले च्याम्पियन्स लिगमा ५० औं गोल पुरा गर्न सफल भए । लेवान्डोस्की च्याम्पियन्स लिगमा ५० गोल पुरा गर्ने सातौं खेलाडी हुन् ।
दोस्रो हाफमा बेन्फिका खेलमा फर्कने प्रयास गर्यो । खेलको ४६ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै बेन्फिकालाई ३ - १ को स्थितिमा ल्याए । तर, खेलको ५१ औं मिनेटमा लेवान्डोस्कीले च्याम्पियन्स लिगको ५१ औं गोल पुरा गर्दै वायर्नलाई ४ - १ को अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा रिबेरीले गोल गर्दै वायर्नलाई ५ - १ को फराकिलो जित दिलाए ।
जितसंगै समूह 'ई' को वायर्नले ५ खेलबाट १३ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा यथावत रहेका छन् । ४ अंक जोडेको बेन्फिका भने बाहिरिएको छ ।
यसै समूहबाट डच क्लब आयाक्सले पनि नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । आयाक्सले मंगलबार राति एथेन्सलाई २ - ० ले पराजित गर्यो ।
आयाक्सले ५ खेलबाट ११ अंक जोडेको छ ।