एजेन्सी । इटालियन क्लब युभेन्ट्स युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियालाई १ - ० ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ को यात्रा तय गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मारियो मान्डजुकिकले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा मान्डजुकिकले गोल गर्दै युभेन्ट्सलाई १ - ० को जित दिलाए ।
मान्डजुकिकले क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाएका हुन् ।
यो जीतसंगै समूह 'एच' को युभेन्ट्सले ५ खेलबाट १२ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । पराजित भ्यालेन्सिया भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । भ्यालेन्सियाको ५ खेलबाट ५ अंक छ ।
यस समूहबाट १० अंक जोडेको इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।