एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (मंगलबार) समूह चरणका विभिन्न ८ खेलहरु संचालन हुँदैछ ।
च्याम्पियन्स लिगमा आज साबिकको विजेता रियल मड्रिड, उपविजेता युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र वायर्न म्युनिख लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
समूह 'जी' मा रहेको स्पेनिस क्लब रियलले इटालियन क्लब रोमासंग खेल्दैछ। रियल र रोमाबीचको खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
रोमाको घरेलु मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछन् । समूह चरणको ४ खेल सकिदा रियल ९ अंक जोडेर शीर्ष स्थानमा छ । ९ अंक भएपनि गोल अन्तरमा पछि पर्दै रोमा दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा सीएसकेए मस्कोले भिक्टोरिया प्लेजेनसंग खेल्नेछ दुई टोलीबीचको खेल ११:४० मा सुरु हुनेछ ।
यस्तै इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियाको सामना गर्दैछ । युभेन्ट्सको घरेलु मैदानमा हुने खेल राति १:४५ मा सुरु हुनेछ ।
भ्यालेन्सियाविरुद्ध मैदान उत्रदा युभेन्ट्सको मुख्य लक्ष्य नकआउट चरणमा पुग्नु हुनेछ । जसका लागि युभेन्ट्स जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । युभेन्ट्सलाई गत सिजन रियललाई च्याम्पियन्स उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिस्टियानो रोनाल्डोको साथ हुनेछ । रोनाल्डो पनि पछिल्लो समय लयमा देखिएका छन् ।
समूह 'एच' मा रहेको युभेन्ट्स ९ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । पाँच अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ ।
यसै समूहको दोस्रो स्थानमा रहेको इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले योङ ब्वाइजसंग घरेलु मैदानमा खेल्दैछ । दुई टोलीबीचको खेल राति १:४५ मै सुरु हुनेछ ।
युनाइटेड आजको खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । युनाइटेड समूहमा ७ अंक जोडेको छ । योङको १ अंक छ ।
इंग्लिश क्लब म्यानचेस्टर सिटीले आज फ्रेन्च क्लब लियोनसंग खेल्नेछ । लियोनको मैदान हुने खेल राति १:४५ मा सुरु हुनेछ ।
लियोनविरुद्ध मैदान उत्रदा सिटी जित निकाल्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । सिटी ४ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ । ६ अंक जोडेको लियोन ओ स्थानमा छ ।
यसै समूहको अर्को खेलमा शाख्तर डोनेस्कटले होफेनहाइमसंग खेल्दैछ ।
समूह 'इ' अन्तर्गत जर्मन क्लब वायर्न म्युनिखले पोर्चुगिज क्लब बेन्फिकासंग खेल्नेछ । दुई टोलीबीचको खेल राति १:४५ मै सुरु हुनेछ । यस समूहमा वायर्न १० अंक जोडेर शीर्ष स्थानमा छ ।
यसै समूह अर्को खेलमा एथेन्सले आयाक्ससंग प्रतिस्पर्धा गर्नेछ ।