काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा थ्री स्टारले एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीका गोलरक्षक अजित प्रजापतिले थ्री स्टारका आधा दर्जन बढी गोलका अवसरलाई विफल पारेपनि टोलीको हार टार्न सकेनन् । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्री स्टार गोल गर्न सफल भएकाे थियो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र अजयी मार्टिनले समान एक/एक गोल गरे ।
जितपछि थ्री स्टार ४ खेलबाट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मनाङ र संकटाको समान ९ अंक भएपनि गोल अन्तरका आधारमा थ्री स्टार दोस्रो स्थानमा उक्लिएको हो ।
एनआरटी प्रतियोगितामा पहिलो जित निकाल्न असफल भयो । ४ खेलबाट १ अंक जोडेको एनआरटी तालिकाको १२ औ स्थानमा यथावत छ ।
खेलको १४ औ मिनेटमा सुनिल वलले डि बक्सभित्रबाट प्रहार गरेको हेड बललाई एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे ।
त्यसको एक मिनेटपछि सुनिल वलले निकालेको पासमा अजयी मार्टिनले बल होल्ड गर्दै प्रहार गरेको बलमा गोलकिपर बाधक बने । खेलको २२ औ मिनेटमा उनै सुनिलले प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो ।
३८ औ मिनेटमा मार्टिन वान भर्सेस वानमा गोल गर्न चुके । कप्तान बिक्रम लामाको लामो क्रममा निराजन खड्काले मिलाईदिएको चखालीपुर्ण पासमा मार्टिन वान भर्सेस वानमा चुक्न पुगेका थिए ।
खेलको ६८ औ मिनेटमा मार्टिनलाई एनआरटीका डिफेन्डरले डिबक्सभित्र फल गरेपछि थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा रञ्जित धिमाल गोल गर्न सफल भए । पहिलो पेनाल्टी प्रहार गोलकिपर अजितले रोकेपनि रिबाउन्ड आएको बललाई रञ्जितलेनै पोस्टको दिशा दिएका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा सुनिल बलको पासलाई सदुपयोग गर्दै मार्टिनले हेडमार्फत गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । जारी लिगमा थ्री स्टारको जर्सीमा मार्टिनको पहिलो गोल हो ।