एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको तीन खेलको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्यान्डले क्लिन स्वीप गरेको छ ।
कोलम्बोमा तेस्रो तथा अन्तिम टेष्टको चौथो दिन सोमबार ४२ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिजमा ३ - ० ले क्लिन स्वीप गरेको हो ।
इंग्ल्यान्डले दिएको ३२७ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको श्रीलंका ८६ ओभर ४ बलमा २८४ रन जोड्दै अलआउट भयो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ८६ तथा रोशेन सिल्भाले ६५ रन जोडेपनि श्रीलंकालाई जित दिलाउन सकेनन् । यस्तै श्रीलंकाका मालिन्दा पुष्पकुमारालेअविजित ४२ रन जोडे । इंग्ल्यान्डका मोइन अली र ज्याक लिचले समान ४/४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जोनी बेईर्स्टोको ११० रनको शतकीय इनिङसमा ३३६ रन बनाएको थियो । श्रीलंकाले पहिलो इनिङसमा २४० रन जोडेको थियो ।
श्रीलंकालाई पहिलो इनिङसमा सस्तैमा समेटर दोस्रो इनिङ थालेको इंग्ल्यान्डले २३० रन जोड्दै घरेलु टोलीलाई ३२७ रनको लक्ष्य दिएको थियो ।
योसंगै इंग्ल्यान्डले १७ बर्षपछि श्रीलंकाविरुद्धको टेष्ट सिरिज जितेको हो । यसअघि इंग्ल्यान्डले सन् २००१ मा श्रीलंकाविरुद्धको सिरिज जितेको थियो ।