काठमाडौं । पहिलो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता पुसको तेस्रो साताबाट सुनसरीमा आयोजना हुने भएको छ ।
आयोजकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको तेस्रो साताबाट आयोजना हुने जानकारी गराएको हो ।
शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगिता पुस २१ गतेबाट माघ ७ गतेसम्म इनरुवामा आयोजना हुने छ । इनरुवा रंगशालामा हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा तीन विभागीय, सात प्रदेश, एक स्थानीय र एक पाहुना टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विप्लप घोषले जानकारी गराए ।
विजेताले उपाधिसंगै ४ लाख १ हजार नगद पुरस्कार पाउने छन् । उपविजेताले २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले २५-२५ हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार १ सय नगद पुरस्कार पाउने छन् । त्यस्तै अनुशाषित टिमले १५ हजार र उदयमान टिमले १० हजार नगद पाउने छन् ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको तर, नेपालमा टी-ट्वान्टी क्रिकेट मात्र भएको कारण इनरुवामा एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको बताएको छ ।
कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले स्थानीय क्लबले ५० ओभरको खेल खेलाउन ठुलो कुरो भएकोले प्रतियोगितालाई सहयोग गर्ने बताए ।
यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशब कुमार विष्टले काठमाडौं बाहिर ठुलो प्रतियोगिता हुन लागेको कारण राखेपले भौतिक र आर्थिक सहयोग गर्ने बताए ।