काठमाडौं । बिहान उदाउँदो र बेलुकी अस्ताउँदो सुर्यको किरणलाई दर्शन गर्न पाउनु सबैको भाग्यमा रहदैन । तर, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान छेउमा एउटा खाली मैदानमा क्रिकेट खेल्नेको दैनिकी यसरी नै बित्ने गर्छ ।
बिहान घाम नदेखिदै हातमा ब्याट र बल बोकेर खाली मैदानमा बासको लाठी ठोक्दै क्रिकेट खेल्न पुग्छन् केही जमात । शनिबार त्रिवि क्रिकेट मैदान माथि तिर रहेको खाली मैदानमा तीन समूहमा बाँडिएर केहीले क्रिकेट खेलिरहेका थिए ।
घाँसले भरिएको मैदानमा धुलो नभएको होईन । तर, भविष्यमा क्रिकेटर बन्ने सपना सहित उनीहरु धुलोसंग मित्रता गाँसिरहेका थिए । १३, बिशाल महर्जन सधै क्रिकेट खेल्न आउछन् । उनी आठ कक्षामा पढिरहेका छन् । उनलाई विद्यालयको किताब भन्दा क्रिकेटको ब्याट प्यारो लाग्छ ।
सामान्यतया बालबालिका बिहान उठ्न अल्छी गर्छन । हरेक अभिभावकको गुनासो यही रहने गर्छ । त बिशाल बिहानै ब्याट लिएर खाली मैदानमा कुदिहाल्छन् । उनको दैनिकी बिहान बेलुकी क्रिकेट खेलेर जान्छ । उनी भविष्यमा पारस खड्का जस्तै क्रिकेटर बन्न चाहेको बताउछन् ।
साना बालबालिका मात्र होईन । युवाहरुको समेत ठुलो जमात देखिन्छ, क्रिकेट मैदानमा । उनीहरुको एउटै लक्ष्य छ, भविष्यमा राम्रो क्रिकेटर बनेर राष्ट्रको नाम उचो गर्ने । त्रिवि विश्व विद्यालयमा मास्टर्स गर्न लागेका सुबोध भट्टराई समेत सोही मैदान धाउन थालेको ६ महिन भईसक्यो । एक दिन क्रिकेट मैदान नपुग्दा धेरै चिज छुटेको अनुभव हुन थालेको छ ।
मैदानमा खेलाडीमात्र होईन । क्रिकेट हेर्ने आउने समेत उत्तिकै देखिन्छन् । बालबालिका र युवाहरुको खेल हेर्दै उनीहरु रमाईलो लिन्छन् ।
कीर्तिपुर मैदानले प्रतियोगितामा खेल्ने नभएर विस्तारे क्रिकेट संस्कृतीको विस्तार गर्न थालेको अनुमान लगाउन सकिन्छ । राज्यले उचित लगानी गरेर क्रिकेट खेलको लागि मैदान बनाउने र खेल सामाग्री उपलब्ध गराउने हो भने धेरै प्रतिभाले मौका पाउने थिए कि ?